|  

सुदूरपश्चिममा घट्दै कालाजारका बिरामी

२७ असार, काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दै गएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार अस्पतालमा उपचार सेवा विस्तार, निःशुल्क औषधि तथा परीक्षण, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, सक्रिय खोजपड्ताल र रोग सार्ने भुसुनाको नियन्त्रण प्रभावकारी बन्दै जाँदा सङ्क्रमण घटेको हो। कीट नियन्त्रण निरीक्षक हेमराज जोशीका अनुसार सुदूरपश्चिममा सन् २०२३ मा ६३, २०२४ मा ४६, २०२५ मा २६ र सन् २०२६ को जुलाई ९ सम्म १३ जना कालाजारका बिरामी पुष्टि भएका छन्। कालाजार ‘लिस्मानिया’ परजीवीबाट हुने सरुवा रोग हो। सङ्क्रमित भुसुनाको टोकाइबाट सर्ने यस रोगको समयमै उपचार नगरे ज्यानसमेत जान सक्ने स्वास्थ्यकर्मीले बताएका छन्। लामो समयसम्म ज्वरो आउने, तौल घट्ने, कमजोरी हुने, रगतको कमी देखिने तथा कलेजो र प्लीहा बढ्नेजस्ता लक्षण देखिए तत्काल परीक्षण गराउन आग्रह गरिएको छ।

स्वास्थ्य निर्देशनालयले भुसुनाको टोकाइबाट बच्न झुल प्रयोग गर्ने, शरीर ढाक्ने लुगा लगाउने, घर वरिपरि सरसफाइ गर्ने र आवश्यकताअनुसार कीटनाशक प्रयोग गर्न सुझाव दिएको छ।