|  

शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन डा. सुनिल शर्माको आग्रह

२७ असार, काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले सडक, पुल र भवनजस्ता भौतिक संरचनाभन्दा शिक्षित, स्वस्थ र सीपयुक्त नागरिक नै राष्ट्रको वास्तविक सम्पत्ति भएको बताएका छन्।

उनले देश विकासको दीर्घकालीन आधार मानव विकास भएकाले शिक्षा, स्वास्थ्य र सीप विकासलाई राज्यको मुख्य प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै डा. शर्माले शिक्षा नै सामाजिक, आर्थिक, रोजगारी र समग्र विकाससँग जोडिएका समस्याको स्थायी समाधान भएको उल्लेख गरेका छन्। उनका अनुसार हरेक वर्ष बजेटमा ठूला योजना घोषणा भए पनि विगतका सरकारले शिक्षा, स्वास्थ्य, सीप विकास र युवा सशक्तीकरणलाई राष्ट्र निर्माणको केन्द्रमा राख्न नसकेको अवस्था छ। उनले राज्यले प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्नुपर्ने र स्वास्थ्य सेवामा सहज, सुलभ तथा आवश्यक पर्दा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। “समृद्ध, न्यायपूर्ण, अवसरमूलक र समतामूलक राष्ट्र निर्माणको बलियो आधार शिक्षित र स्वस्थ नागरिक नै हुन्,” डा. शर्माले बताएका छन्।

उनले तत्काल सबै परिवर्तन सम्भव नभए पनि स्पष्ट लक्ष्यसहित पाँच वर्षे कार्ययोजना बनाएर चरणबद्ध रूपमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। उनका अनुसार २५ वर्षमुनिका हरेक युवालाई गुणस्तरीय प्राविधिक शिक्षाको अवसर उपलब्ध गराउनुपर्ने, योग्य युवालाई चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका क्षेत्रमा अघि बढ्ने वातावरण बनाउनुपर्ने आवश्यकता छ। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि सहुलियत ऋण तथा छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने बताउँदै उनले शिक्षा र सीपयुक्त युवालाई सम्मानजनक रोजगारीसँग जोड्न सके बेरोजगारी, गरिबी, वैदेशिक पलायन र युवामा बढ्दो निराशा घटाउन सकिने दाबी गरेका छन्। “शिक्षामा गरिएको लगानीले समृद्ध राष्ट्रको आधार तयार गर्छ भने स्वास्थ्यमा गरिएको लगानीले सक्षम र आत्मनिर्भर नागरिक निर्माण गर्छ। यसका लागि दूरदृष्टि, इमानदार नेतृत्व र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक छ,” उनले भनेका छन्।

चिकित्सा शिक्षा र शैक्षिक क्षेत्रमा भइरहेका आन्दोलनतर्फ संकेत गर्दै डा. शर्माले कुनै व्यक्ति वा समूहको आन्दोलनका कारण हजारौँ विद्यार्थीको पढाइ प्रभावित हुनु उचित नभएको बताएका छन्। विद्यार्थीको भविष्यभन्दा माथि कुनै पनि राजनीतिक स्वार्थ हुन नसक्ने उनको भनाइ छ। सरकारलाई लक्षित गर्दै उनले जनताले विगतका सरकारले गर्न नसकेका काम पूरा गर्न ठूलो जिम्मेवारी दिएको उल्लेख गरे। उनले क्षणिक लोकप्रियताभन्दा शिक्षा, स्वास्थ्य र मानव विकासलाई केन्द्रमा राखेर दीर्घकालीन नीति ल्याउन सरकारसँग माग गरेका छन्।