|  

आत्मदाह र सुकुम्बासीको विपत्ः न बोले रवि, न बालेन नै

२८ असार, काठमाडौं । नगर प्रहरीसँगको विवादपछि मुगुका गणेश नेपालीले बिहीबार आत्मदाह प्रयास गरे।

नेपालीलाई वीर अस्पताल पुर्‍याइए पनि उपचार सम्भव भएन। शुक्रबार अस्पतालमा उपचारको क्रममा निधन भएको छ । गणेश नेपालीको आत्मदाहपछि काठमाडौंमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय व्यवसायी आश्विनकुमार राउतको मृत्यु भयो। उनको पनि वीर अस्पतालमा मृत्यु भएको छ।

शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाए। गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ । बागमती खोलाको बाढीले काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा पर्‍यो । होल्डिङ सेन्टरभित्र राति अचानक बाढी पसेपछि त्यहाँ आ श्रय लिइरहेका विस्थापित सुकुम्बासीहरूको बिचल्ली भएको छ ।

विगतमा आत्मदाह प्रयास होस् या सुकुम्बासी व्यवस्थापनको विषयमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले पीडितको पक्ष लिन्थे र तत्कालीन सरकारविरुद्ध आगो ओकल्थे। गणेश नेपालीको आत्मदाह गरेको तीन दिन बित्दासमेत दुवैले न स्वास्थ्यलाभको कामना गरे न श्रद्धाञ्जलीमा शब्द खर्चिए।