|  

राधास्वामी होल्डिङ सेन्टरका ८९ सुकुम्वासी खरिपाटीतर्फ स्थानान्तरण

२८ असार, काठमाडाैं ।  लगातारको वर्षापछि कीर्तिपुर-१०, सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि सरकारले त्यहाँ आश्रय लिइरहेका ३१ घरपरिवारका ८९ जना सुकुम्वासीलाई सुरक्षित स्थानमा सारेको छ।

शनिबार र आइतबार दुई चरणमा उनीहरूलाई मुख्य रूपमा भक्तपुरको खरिपाटी स्थानान्तरण गरिएको छ भने केही परिवारलाई बोडे क्षेत्रमा अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। यसअघि वैशाख १२ गते बागमती नदी किनारबाट हटाइएका सुकुम्वासीहरूलाई अस्थायी रूपमा उक्त होल्डिङ सेन्टरमा राखिएको थियो। तर बाढीले सेन्टर नै डुबानमा परेपछि अधिकांश परिवारका लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोगका सामग्रीमा ठूलो क्षति पुगेको छ। डुबान बढेपछि सुरक्षाकर्मीले डुङ्गाको सहायताले उद्धार अभियान सञ्चालन गर्दै प्रभावितहरूलाई सुरक्षित स्थानमा पुर्‍याएका थिए। उद्धार गरिएकामध्ये केहीलाई तत्कालका लागि त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा आश्रय दिइएको थियो।

सरकारले प्रभावित परिवारको थप व्यवस्थापन तथा राहत वितरण प्रक्रिया अघि बढाएको जनाएको छ।