|  

दसैँसम्म मात्रै सरकार टिक्ने दुर्गा प्रसाईँको दाबी

२८ असार, काठमाडाैं ।  राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिकाको वर्तमान नेतृत्वको कार्यकाल दसैँसम्म मात्रै टिक्ने दाबी गरेका छन्।

झापाबाट काठमाडौं आएलगत्तै निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भन्दै प्रहरीले नियन्त्रणमा लिएर घरमै पुर्‍याएपछि प्रसाईँले आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले वर्तमान नेतृत्व आफू आएको राजनीतिक प्रक्रियाकै परिणामस्वरूप बाहिरिने दाबी गर्दै भने, ‘दसैँसम्म हेरौँ, त्यसपछि के हुन्छ सबैले देख्नेछन्। जुन बाटोबाट आएको हो, त्यही बाटोबाट जान्छ।’ साथै विगतमा हिंसा र द्वन्द्वको वातावरण सिर्जना गर्नेहरूले अहिले त्यसकै परिणाम भोग्नुपर्ने अवस्था आएको आरोप पनि लगाएका छन् ।

प्रसाईँले आफूलाई बोल्न नदिने प्रयास भइरहेको र सरकारले अनावश्यक रूपमा धरपकड तथा फसाउने प्रयास गरिरहेको आरोप लगाए। उनले आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै सुकुम्बासी व्यवस्थापन वा अन्य घटनामा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे। पत्रकार सम्मेलनमा उनले काठमाडौं महानगरका प्रमुख वालेन्द्र (बालेन) शाहको नेतृत्वमाथि पनि टिप्पणी गर्दै अभिव्यक्ति स्वतन्त्रता संकुचित हुँदै गएको आरोप लगाए। सामाजिक सञ्जाल र ‘एल्गोरिदम’ प्रयोग गरेर फाँसिवादी प्रवृत्ति स्थापित गर्न खोजिएको उनको दाबी थियो।

प्रसाईँले जरिवाना, प्रशासनिक कारबाही तथा नागरिकमाथिको व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान व्यवस्थाले नागरिकलाई निराश बनाएको आरोप लगाए। आफूहरूको अभियानको मुख्य उद्देश्य नागरिकलाई स्वतन्त्र रूपमा रोजगारी र व्यवसाय गर्न पाउने वातावरण सुनिश्चित गर्नु रहेको उनको भनाइ थियो। उनले आगामी दिनमा आफ्नो अभियान थप सशक्त हुने विश्वाससमेत व्यक्त गरे।