|  

मानसिक स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारको नयाँ अभियान

२८ असार, काठमाडाैं । मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र परामर्शलाई देशभर विस्तार गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ अभियान सञ्चालन गर्ने भएको छ।

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचनालाई परिचालन गरी समुदायस्तरसम्म मानसिक स्वास्थ्य सेवा पुर्‍याउने योजना अघि सारेको हो। मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदायमा सचेतना, उपचाररत बिरामीलाई सहजीकरण तथा वैदेशिक रोजगारीमा रहेका नेपाली र परिवारलाई परामर्श सेवा विस्तार गर्ने निर्णय गरेको छ। मन्त्रालयले मानसिक स्वास्थ्य हटलाइन ११६६ र हेलो स्वास्थ्य १११५ सहित उपलब्ध सेवाबारे व्यापक प्रचार गर्ने जनाएको छ। सामाजिक सञ्जाल, भिडियो सामग्री, अनलाइन काउन्सेलिङ लगायतका माध्यमबाट जनचेतना अभियान सञ्चालन गरिनेछ।

अभियानमा महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब तथा गैरसरकारी संस्थाका जनशक्तिलाई समेत परिचालन गरिनेछ। अस्पतालमा मानसिक स्वास्थ्य सेवा एकीकृत गर्ने, साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने र आवश्यक जनशक्ति व्यवस्थापन गर्ने तयारी पनि मन्त्रालयले अघि बढाएको छ। चालु आर्थिक वर्षभित्र प्रारम्भिक कार्यक्रम सुरु गरी आगामी आर्थिक वर्षदेखि मानसिक स्वास्थ्यलाई समुदायमा आधारित सेवाका रूपमा विस्तार गर्ने मन्त्रालयको योजना छ।