|  

आज र भोलि देशभर मुसलधारे पानी पर्ने,सतर्कता अपनाउन आग्रह

२९ असार, काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव तीव्र बनेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सरेर नेपालको तराई भू–भाग नजिक आइपुगेकाले काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुनसरी, उदयपुर, सिन्धुली, नवलपरासी, पाल्पा, सोलुखुम्बु, झापा, मकवानपुर र म्याग्दीलगायत जिल्लामा भारी वर्षा मापन भएको छ। आज र भोलि पनि देशका धेरै स्थानमा हल्कादेखि मुसलधारे वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ भने केही स्थानमा मुसलधारे वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

हिमाली क्षेत्रमा पनि मेघगर्जन, चट्याङ्गसहित वर्षा तथा केही स्थानमा हिमपातको सम्भावना रहेकाले नदी, खोला, बाढी, डुबान र पहिरोको जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।