|  

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

२९ असार, काठमाडाैं ।  काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।

ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन सबैमा आग्रह गरे। 

विभागमा अहिले प्राप्त अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर (अति भारी वर्षा) भएको छ । त्यसपछि सुनसरीमा ११७ र उदयपुरमा १०६ मिलिमिटर (अति भारी वर्षा) वर्षा भएको मौसमविद् अर्यालले जानकारी दिए । 

उनका अनुसार काठमाडौँसहित अन्य केही जिल्लाहरूमा भने भारी वर्षा भएको छ । काठमाडौँको चन्द्रागिरि वर्षामापन केन्द्रमा गरिएको मापनअनुसार ९३ दशमलव छ मिलिमिटर वर्षा भइसकेको छ ।