|  

मिडिया हाउसको गेटमा गाडी पार्किङ घटनाबारे निष्पक्ष छानबिन गर्न कांग्रेस सचेतक थापाको माग

२९ असार, काठमाडाैं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सञ्चारमाध्यमका कार्यालयको मुख्य गेटमा शंकास्पद रूपमा गाडी पार्क गरिएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी छन्।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स प्रा.लि.अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्वारमा सवारी साधन पार्क गरिएको घटनापछि प्रश्न उठेको भन्दै थापाले यसको वास्तविकता छानबिनबाट सार्वजनिक हुनुपर्ने बताएकी हुन्। उनले उक्त सवारीसाधन कसले र किन पार्क गर्‍यो भन्ने विषय स्पष्ट हुनुपर्ने बताउँदै यो सामान्य घटना थियो वा कुनै उद्देश्यसहित गरिएको गतिविधि थियो भन्नेबारे तथ्य बाहिर ल्याउनुपर्ने धारणा राखेकी छन्। थापाले स्वतन्त्र र निर्भीक सञ्चारमाध्यम लोकतन्त्रका आधारस्तम्भ भएकाले घटनाको पारदर्शी अनुसन्धान आवश्यक रहेको बताउँदै यसले सञ्चार क्षेत्र र राज्य संयन्त्रमाथिको जनविश्वास कायम राख्न सहयोग गर्ने उल्लेख गरेकी छन्।