|  

विधि विज्ञान प्रयोगशाला सञ्चालनमा अनुगमन र कार्यान्वयन पक्ष बलियो बनाउन मन्त्री पुनको जोड

२९ असार, काठमाडाैं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी बनाउन अनुगमन, मूल्याङ्कन र कार्यान्वयन प्रणाली सुदृढ गर्नुपर्ने बताएका छन्।

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलमा सहभागी हुँदै मन्त्री पुनले अध्ययन तथा अनुसन्धानबाट तयार भएका प्रतिवेदन कार्यान्वयन नहुँदा समस्या देखिएको बताए। उनले प्रतिवेदन तयार गर्ने मात्र नभई त्यसलाई कार्यान्वयन गराउने स्पष्ट व्यवस्था आवश्यक रहेको उल्लेख गरे। साथै प्रयोगशाला सञ्चालनका लागि दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्ने भन्दै सम्बन्धित व्यक्तिलाई मात्र आवश्यक तालिम दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रयोगशालाको स्रोत व्यवस्थापन, जनशक्ति, पूर्वाधार, उपकरण र वित्तीय व्यवस्थापनको जिम्मेवारी स्पष्ट गर्नुपर्ने बताइन्। समितिको बैठकमा विधेयकका विभिन्न प्रावधानमाथि सांसद, विज्ञ तथा सरोकारवालाबीच छलफल भएको थियो।