|  

देशभर मनसुनी वायुको प्रभावः यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

३१ असार, काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा नेपालका तराई क्षेत्र नजिक रहेको छ ।

यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिनभर देशका पहाडी तथा तराईका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेस र केही तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि देशका विभिन्न स्थानमा वर्षा जारी रहने र कोशी प्रदेशका पहाडी तथा कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।