|  

ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदानः मन्त्री लम्साल

३१ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम कडा बनाउनुको विकल्प नभएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले तीव्र गति र लापरबाहीका कारण दुर्घटना बढिरहेको भन्दै नियमनमा कडाइ गर्नुपर्ने बताएका हुन् ।

पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाबाट १२ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गर्दै उनले गल्तीको प्रकृति, तिव्रता र पुनरावृत्तिका आधारमा ५ सयदेखि ५० हजार रुपैयाँसम्मको सीमा निर्धारण गरिने बताए ।

उनले भने, ‘हामीले जरिवानालाई वैज्ञानिक बनाउन लागेका हौँ । गल्तीको प्रकृति, तिव्रता र पुनरावृत्तिका आधारमा ५ सयदेखि ५० हजारसम्मको सीमा निर्धारण गरिनेछ । ’नगद जरिवाना तिर्न नसक्नेहरूका लागि ‘श्रम भुक्तानी’ (श्रमदान)मार्फत जरिवाना तिर्न सक्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको उनले जानकारी दिए।