|  

सोलुखुम्बुमा ३ कराेड ३० लाखको लागतमा गुम्बा भवन निर्माण सुरु

३१ असार, काठमाडाैं । कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा भवन निर्माणको शिलान्यास गरिएको छ।

बुधबार आयोजित कार्यक्रममा लिखु पिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा गुम्बा भवनको शिलान्यास गरेका हुन् । भारत सरकारको करिब ३ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त गुम्बा भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिनेछ। परियोजना लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन हुने जनाइएको छ। यो सोलुखुम्बु जिल्लामा सञ्चालन हुने छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष बस्नेतसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै निर्माण हुन लागेको गुम्बा भवनले स्थानीय समृद्ध सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल–भारतबीच रहेको घनिष्ठ छिमेकी सम्बन्ध र विकास साझेदारीबारे पनि चर्चा गरिएको थियो। उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै नेपाल सरकारको विकास तथा समृद्धिको प्रयासलाई सघाउन भारत सरकारले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरिएको छ।