|  

बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष भट्ट

३१ असार, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका छन् ।

बुधवार अर्थ समितिको बैठकमा उनले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका हुन् । अध्यक्ष भट्टले नेपालमा शेयर बजार सधैं बढिरहनुपर्ने भन्ने मान्यता रहेको उल्लेख गर्दै उनले कुनैपनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पारे । बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएको उनको गुनासो छ । उनले बोर्डको भुमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको बताए ।

उनकाअनुसार सर्ट सेलिङ प्रणाली लागू गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ । यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर विक्री गर्न सक्नेछन् भने मूल्य घटेपछि सोही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिने व्यवस्था हुनेछ । बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेझैं शेयर किनेर मूल्य बढेपछि विक्री गरी नाफा लिन सक्नेछन् । अध्यक्ष भट्टले यस व्यवस्थापछि बजार बढ्नैपर्ने भन्ने एकतर्फी मनोविज्ञान परिवर्तन हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने दाबी गरे । उहाँले धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको उल्लेख गर्दै लगानी निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने बताए । उनले भने,‘अहिले हाम्रो बजारको नेचर के छ भने बजार घट्यो भने सबै चिन्तित हुन्छन्, बजार बढ्यो भने सबै खुशी हुन्छन् । बजार जहिले पनि बढिरहनु पर्छ भन्ने मान्यता छ । सबैले भन्छन् कि बजार बढ्नैप¥यो, बढ्नै पर्यो । तर एकचोटी बढ्यो धेरै भने पनि फेरि धितोपत्र बोर्डले के हेरिरहेको अनावश्यक रुपमा यसरी बढेको छ भन्ने प्रश्न पनि आउँछ । नेपालको कन्टेक्स्टमा भन्ने हो भने बजार बढी नै रहनुपर्ने छ,  ३ हजारमा पुगेर पनि कोही खुसी हुनेवाला छैन, ३ हजार ५ सयमा पुगे पनि हुनेवाला छैन, ५ हजारमा पुगे पनि हुनेवाला छैन । यसको कुनै लिमिट छैन । बजार सधैँ बढिरहन त सक्दैन । संसारको कुनै पनि इन्डेक्सहरु बढेकोबढ्यै गर्नेवाला छैनन् । तर नेपालमा ५ हजारमा पुगेर पनि यदि घट्यो भने धितोपत्र बोर्ड घेराउनै हुनेवाला छ, जो हिजो भयो । मैले हिजो सामना गरेर आएँ, मेरो जीवनमा पहिलोपटक घेराउको पनि सामना गरेर आएँ । नेपालको बजार किन हो त यो बढिरहनु पर्ने भन्दाखेरि यसको एउटै कारण छ कि बजारमा हामी लगानीकर्ताहरुले शेयर किन्छौँ । शेयर किन्यो, एउटा मूल्यमा र हामीलाई रिटर्न हुनको लागि शेयरको प्राइस बढ्नुपर्छ । शेयरको प्राइस नबढिकन हाम्रो रिटर्न आउनेवाला छैन । सबैले रिटर्नको लागि इन्भेस्टमेन्ट गर्ने हो, इन्भेस्टमेन्टको रुल त्यही हो प्रतिफलकै लागि गर्ने हो र त्यो बढ्नै पर्छ । अब हामीले बजार जताततै जाओस् तर इन्भेस्टरहरुले रिटर्न लिने मेकानिजम बनाउँदैछौँ । त्यो भनेको के हो भने बजार तल गयो भने पनि रिटर्न आउँछ, बजार माथि गयो भने पनि रिटर्न आउँछ । अब छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ । जसमा कुनै इन्भेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन ग¥यो भने यो उपकरण प्रयोग गर्छ । उसले अहिले बजारमा शेयर बरो गरेर बेचिदिन्छ, अरुसँग उधारोमा लिएर ऋण लिएर भनेजस्तो बरोइङ गर्छ, शेयर अहिलेको बेचिदिन्छ र उसको एक्सपेक्टेसन हुन्छ कि बजार भविष्यमा घट्छ, म घटेको बेलामा यो शेयर किनेर फिर्ता गरिदिन्छु । अब उसलाई फाइदा हुन्छ, अहिले ५० रुपैयाँको शेयर बेचिदियो भनेपछि ३० रुपैयाँ भएको बेलामा किनेर फिर्ता गर्छु भन्न पायो । उसलाई २० रुपैयाँ फाइदा हुन्छ ।  कसैले बजार बढ्ने पो वाला छ भनेर उसले बजारमा अहिले ५० रुपैयाँमा शेयर किन्छ र ८० भएको बेलामा उसले बेचेर फाइदा कमाउँछ । दुइटै इन्भेस्टरहरु के हुन्छन् अब बाडिन्छन् । त्यसपछि यो लगानीकर्ता संघ भन्ने पनि हुँदैन । अहिलेसम्म एकै लाइनमा गइरहेको हुनाले बजार बढ्नै पर्ने बाध्यता भएको हो । सोही कारण पुँजीबजार लगानीकर्ता संघहरु भएर अनि हामीलाई घेराउ गर्छन् । बजार अहिले देखिएको यो समस्या हामी समाप्त गरिदिन्छौँ ।’ 

अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि जानकारी दिए । हाल सम्पती छानबिनलगायतका सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको भन्ने गुनासो आएको उनको भनाई छ । सम्पती छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्ने पनि उनले जानकारी दिए । उनले नेपालको पुँजीबजार सुधारको लागी बोर्डले हालै ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजानिक गरिएको पनि जानकारी दिए । उनले आगामी आर्थिक वर्ष बोर्डले गर्ने कार्यको लागि आर्थिक वर्ष २०८३/०८४ को पुजीँबजार नीति पनि सार्वजानिक गरिएको बताए ।