|  

जापानमाथि ९ विकेटको जितसँगै नेपाल यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा

३१ असार, काठमाडौं । जापानलाई सहज रूपमा पराजित गर्दै नेपाल एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार मलेसियाको बायोमास ओभलमा भएको खेलमा नेपालले जापानमाथि ९ विकेटको जित निकालेको हो। जापानले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले ११.२ ओभरमै एक विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा सावित्री धामीले अविजित ४१ रनको योगदान दिइन्। यस्तै, कप्तान सोनी पाख्रिनले अविजित १८ रन बनाउँदा साना प्रविनले पनि १८ रन जोडिन्। जापानकी ममता कास्वानले नेपालको एक मात्र विकेट लिन सफल भइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रन बनाएको थियो। जापानका लागि कप्तान बियन्का सिनोले अविजित ३८ रन बनाइन् भने अयान साकुराबा र किचो सुजुकीले समान १० रन जोडे। बलिङतर्फ नेपालका रिया शर्मा र क्रिस्मा गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै दुई-दुई विकेट लिए। अनु कडायत, मनिषा उपाध्याय र सोनी पाख्रिनले समान एक-एक विकेट हात पारे। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल समूह ‘डी’को विजेताका रूपमा सेमिफाइनल पुगेको हो। नेपालले समूह चरणका तीनै खेलमा जित निकाल्दै कतार, सिंगापुर र हङकङलाई पराजित गरेको थियो।

यता जापान समूह ‘ए’को उपविजेताका रूपमा नकआउट चरणमा पुगेको थियो। समूह चरणमा जापानले दुई खेल खेल्दा एक जित र एक हारको नतिजा निकालेको थियो। उसले म्यानमारलाई पराजित गरे पनि थाइल्यान्डसँग हार बेहोरेको थियो।