|  

लोकतान्त्रिक विधि मिचेर सरकार तानाशाही बाटोमा लागेको श्रम संस्कृति पार्टीको आरोप

३१ असार, काठमाडाैं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार लोकतान्त्रिक विधि र पद्धतिलाई लत्याउँदै तानाशाही मार्गमा अग्रसर भएको आरोप लगाएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारले किसान, मजदुर, प्रेस र आम नागरिकको अधिकार कुण्ठित गर्न खोजेको दाबी गरेका हुन् । प्रधानमन्त्रीको ‘सुपर एक्सप्रेस वे’ को प्रसङ्ग उल्लेख गर्दै राईले सरकारलाई लोकतान्त्रिक पद्धतिको बाटोमा हिँड्न सुझाव दिए । सांसद राईले संसदको १० दिनको बिदाका समयमा सरकारले अध्यादेशमार्फत नागरिकको अधिकारमाथि हस्तक्षेप गर्नसक्ने आशङ्का व्यक्त गरे । साउन १ गतेदेखि अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै उनले वर्षौँदेखि सेवा गरेका कर्मचारीलाई बिना विकल्प हटाउनु अन्यायपूर्ण हुने बताए ।

सरकारको पारदर्शितामाथि प्रश्न उठाउँदै राईले ६ वटा स्वास्थ्य प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्दा अपनाइएको प्रक्रिया र सिफारिस भएका व्यक्तिको योग्यता सार्वजनिक नगरिएको भन्दै आलोचना गरे। संविधान संशोधनको विषयमा धारणा राख्दै उनले संघीयता र प्रदेश संरचनामाथि कुनैपनि प्रकारको ‘छेडखानी’ स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उनले भने,‘हामीलाई नागरिकहरुले लोकतान्त्रिक विधि र पद्धतिबाट कानून बनाउ सरकार चलाउ भनेर यहाँ पठाएको हो लोकतान्त्रिक विधि र नीति मिचेर तानाशाही जन्माउ भनेर होइन सभामुख महोदय । अहिले वर्तमान सरकारले किसान मजदुर गरिब निमुखा यी सबै माथि र प्रेस माथि विविध कुराहरुमा सरकारले तानाशाही ढंगले जसरी आज अधिकार कुण्ठित गर्ने काम गराएको छ, त्यो त्यो प्रति सरकारलाई म भन्न चाहन्छु । तपाईहरु हिजो अस्ति हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले भन्दै थियो हामी सुपर एक्सप्रेस वेमा हिँडेका हौ भन्दै थियो म भन्न चाहन्छु प्रधानमन्त्री ज्युलाई प्रधानमन्त्री ज्यु तपाई सुपर एक्सप्रेस वेमा होइन लोकतान्त्रिक विधि र पद्धतिको वेमा सरकार चलाउनुहोस् । यदि सुपर सुपर एक्सप्रेस वेमा अगाडी बढ्दै गर्दा खेरी कतै विचार पु¥याइएन भने फेरि तपाईको एक्सिडेन्ट भयो भने नउठ्ने ढंगले लड्न सकिन्छ त्यसैले सरकार सफल होस् भन्ने हाम्रो पार्टीको धारणा हुँदै गर्दा खेरी लोकतान्त्रिक विधि र पद्धतिमा चलाउ भन्ने म सरकारलाई भन्न चाहन्छु ।’

सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको र आफूमाथि दुव्र्यवहार भएको उल्लेख गरेका छन् ।