|  

महेश बस्नेतको आरोप: ‘३५ वर्षका उपलब्धिलाई शून्य देखाउने भाष्य बनाइँदैछ’

३१ असार, काठमाडाैं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकार र यसको नेतृत्वले बहुदलीय व्यवस्थापछिका ३५ वर्षका उपलब्धिलाई अस्वीकार गर्ने गरी योजनाबद्ध रूपमा भाष्य निर्माण गरिरहेको आरोप लगाएका छन्।

बुधबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले पछिल्लो समय विगत तीन दशकभन्दा बढी अवधिका सबै उपलब्धिलाई शून्य सावित गर्ने प्रयास भइरहेको बताएका हुन्। उनले प्रश्न गर्दै भनेका छन्, “यदि पछिल्ला ३५ वर्ष पूर्ण रूपमा असफल थिए भने, त्यसअघिको पञ्चायती व्यवस्था सफल थियो त?”बस्नेतका अनुसार कुनै पनि देशको इतिहासलाई पूर्ण रूपमा सफल वा असफल भनेर दुई ध्रुवमा मात्रै मूल्याङ्कन गर्न मिल्दैन। उनले बहुदलीय व्यवस्थापछिका वर्षहरूमा कमजोरीहरू रहे पनि संविधान निर्माण, सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना तथा शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विद्युत् र सूचना प्रविधिलगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन्। उनले ती उपलब्धिलाई एकै वाक्यमा ‘नरक’ भनेर चित्रण गर्नु इतिहास र जनताको संघर्षप्रतिको अन्याय हुने टिप्पणी गरेका छन्।

साथै, बस्नेतले पछिल्ला दिनमा उदाएका नयाँ राजनीतिक शक्तिहरूले सामाजिक सञ्जालमार्फत उत्तेजना फैलाउँदै विगतका उपलब्धिलाई नकारात्मक रूपमा प्रस्तुत गर्न खोजिरहेको आरोप समेत लगाएका छन्।