|  

नेपाल–भारत ऊर्जा सहकार्यलाई थप गति दिने सहमति

३१ असार,काठमाडौं ।  नेपाल र भारतबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) का १३औँ बैठकहरू पोखरामा सम्पन्न भएका छन्।

भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सह–अध्यक्षतामा बुधबार जेएससीको १३औँ बैठक सम्पन्न भएको हो। यसअघि मंगलबार भारत सरकारको विद्युत मन्त्रालयका सहसचिव (प्रसारण) पंकज कुमार र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देवको सह–अध्यक्षतामा जेडब्ल्युजीको १३औँ बैठक सम्पन्न भएको थियो।

बैठकमा जलविद्युत आयोजना विकास, विद्युत व्यापार तथा प्रसारण पूर्वाधार निर्माणलगायत नेपाल–भारत ऊर्जा सहकार्यका विविध पक्षबारे विस्तृत समीक्षा गरिएको थियो।

दुवै पक्षले ४०० केभी गोरखपुर–न्यू बुटवल प्रसारण लाइनसहित नयाँ प्रसारण लाइनहरूको विकासमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन्। साथै, सञ्चालनमा रहेका तथा प्रस्तावित विद्युत उत्पादन र प्रसारण आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने तथा आवश्यक सहजीकरणका उपायहरूबारे पनि छलफल भएको छ।

बैठकमा नेपाली र भारतीय विद्युत ग्रिडको समन्वित सञ्चालन, सौर्य ऊर्जा परियोजनाको विकास, हरित हाइड्रोजन क्षेत्रमा सहकार्य तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका विषयमा समेत विचार–विमर्श गरिएको थियो।

जेएससी बैठकअघि भारत सरकारका विद्युत सचिव पंकज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

बैठकमा भएका छलफल तथा सहमतिले नेपाल र भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।