|  

२५ जनाको ज्यान लिएको धुर्बे हात्ती अब स्याटेलाइट निगरानीमा

३२ असार, काठमाडौं  । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका बस्तीमा वर्षौंदेखि आतंक मच्चाउँदै आएको कुख्यात जंगली हात्ती धुर्बे ’ लाई स्याटेलाइट प्रविधिमा आधारित अत्याधुनिक रेडियो कलर जडान गरिएको छ ।

हालसम्म २५ जनाको ज्यान लिइसकेको धुर्वेलाई १० दिनसम्मको निरन्तर खोजीपछि बुधबार राति डार्ट (बेहोस बनाउने औषधि) गरी नियन्त्रणमा लिएर रेडियो कलर जडान गरिएको छ ।

यससँगै यसको गतिविधि अब वास्तविक समय (रियल टाइम)मा निगरानी गर्न सकिने भएको छ ।

वन्यजन्तु विज्ञको निगरानीमा डार्ट गरी बेहोस बनाएपछि यसको घाँटीमा स्याटेलाइट–आधारित रेडियो कलर जडान गरिएको र आक्रामक क्षमता कम गर्न दाह्रा पनि काटिएको छ ।