|  

घुस प्रकरणमा नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई ८ वर्ष कैद, व्यवसायी दीपक आनन्द पनि दोषी ठहर

३२ असार, काठमाडाैं । विशेष अदालतले घुस लिएको अभियोगमा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई आठ वर्ष कैद सजाय सुनाएको छ।

अदालतले घुस दिएको आरोपमा व्यवसायी दीपक आनन्दलाई पनि समान आठ वर्षकै कैद सजायको फैसला गरेको हो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पौडेलले व्यवसायी आनन्दसँग घुस मागेको ठहर गर्दै उक्त फैसला गरेको हो। अदालतले नेपाल सरकारको विशिष्ट तहको जिम्मेवारीमा रहेर भ्रष्टाचार गरेको निष्कर्ष निकाल्दै पौडेललाई थप छ महिनाको कैद सजाय पनि तोकेको छ। यससँगै उनले कुल आठ वर्ष छ महिनाको कैद सजाय भोग्नुपर्ने भएको छ। यद्यपि, घुसको रकम बरामद नभएको आधारमा अदालतले विगो कायम गरेको छैन। तर, घुस लेनदेन भएको भनिएको तीन करोड आठ लाख रुपैयाँलाई दामासाहीका आधारमा बाँड्दै पौडेल र आनन्द दुवैलाई जनही एक करोड ५४ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

यो फैसला सार्वजनिक पदमा रहेका उच्च अधिकारीसँग सम्बन्धित बहुचर्चित घुस प्रकरणमाथिको महत्वपूर्ण न्यायिक निर्णयका रूपमा हेरिएको छ।