|  

साउनको भीड व्यवस्थापन गर्न पशुपतिमा विशेष तयारी

३२ असार, काठमाडाैं । साउन महिनामा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विशेष तयारी गरेको छ।

साउन र सोमबार भगवान् शिवको प्रिय समय मानिने भएकाले यस अवधिमा लाखौँ श्रद्धालु पशुपतिनाथको पूजाआराधना तथा दर्शनका लागि पुग्ने गर्छन्। भक्तजनको व्यवस्थापन, दर्शनलाई सहज र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा गरिएको कोषले जनाएको छ। साउने सोमबार बोलबम यात्रीको समेत ठूलो भीड लाग्ने भएकाले दर्शनार्थीलाई व्यवस्थित गर्न पशुपति क्षेत्रमा चारवटा लाइनको व्यवस्था गरिने भएको छ।

धार्मिक विश्वासअनुसार वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट ल्याइएको शुद्ध जल पशुपतिनाथमा अर्पण गर्दा मनोकामना पूरा हुने विश्वासका कारण साउनमा जल चढाउने भक्तजनको विशेष चहलपहल हुने गर्छ।