|  

फुटवेयर उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

०१ श्रावण, काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता-चप्पल उद्योगको विकास, उत्पादन क्षमता विस्तार र बजार प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उत्पादनको प्रयोग बढाउन, उद्योगलाई प्रतिस्पर्धी बनाउन र नेपाली जुत्ता-चप्पलको बजार विस्तारमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । उनले उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तीनै तहका सरकारको समन्वयमा सीपमूलक तालिम सञ्चालन गरिने जानकारी दिए।

साथै, उद्योगको वास्तविक उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयात व्यवस्थापनलाई व्यवस्थित बनाइने र आयातसम्बन्धी अभिलेख तथा अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाइने उल्लेख गरे।छलफलमा एफएमएएनका प्रतिनिधिहरूले भारतसँग जोडिएका नाकाबाट हुने अवैध जुत्ता-चप्पल आयात नियन्त्रण गर्न, कर तथा भ्याटको दायराबाहिर रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन र गुणस्तरहीन उत्पादनको आयात रोक्न सरकारसँग माग गरेका थिए। उनीहरूले आयातित जुत्ता-चप्पलको गुणस्तर परीक्षण अनिवार्य गर्नुपर्ने, उद्योगमैत्री नीति लागू गर्नुपर्ने तथा स्वदेशी उद्योगलाई बजार संरक्षण र आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने धारणा पनि राखेका थिए।

छलफलमा एफएमएएनका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो।