|  

रास्वपामा मनोनयनको तयारी : महामन्त्रीका लागि बालेन पक्षबाट सुदीप ढकालको नाम चर्चामा

०१ श्रावण, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मनोनीत महामन्त्री पदका लागि प्रधानमन्त्री बालेन शाह पक्षबाट सुदीप ढकालको नाम चर्चामा आएको छ।

रास्वपाको पहिलो महाधिवेशनबाट १ हजार ४३९ मत प्राप्त गर्दै केन्द्रीय सदस्य निर्वाचित भएका ढकाल अहिले प्रधानमन्त्री शाहको सचिवालयमा प्रशासन प्रमुखको जिम्मेवारीमा छन्। प्रधानमन्त्री निकट एक रास्वपा नेताका अनुसार पार्टीभित्र महामन्त्री पदका लागि ढकालको नाम अघि सारिएको हो।महाधिवेशनका क्रममा ढकाललाई केन्द्रीय सदस्यमा जिताउन बालेन पक्षका नेताहरू सक्रिय रहेको दाबी गरिएको छ। सोही समूहले यसअघि महामन्त्री बनेका भूपदेव शाहलाई निरन्तरता दिन नचाहेको बताइएको छ। बालेन पक्षका नेताहरूले भूपदेवको संगठनात्मक भूमिकामाथि प्रश्न उठाउँदै नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राखेका छन्। एक नेताका अनुसार महाधिवेशनमा आफ्नो समूहका उम्मेदवारलाई जिताउन र संगठन विस्तारमा भूपदेवको भूमिका अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको निष्कर्ष निकालिएको छ। उनले भने, “संगठन निर्माणमा अझ सक्रिय भूमिका आवश्यक देखिएकाले महामन्त्रीमा नयाँ अनुहार अघि सार्ने तयारी भएको हो।” रास्वपा केन्द्रीय समितिले गत वैशाख ७ गते भूपदेव शाहलाई महामन्त्रीमा मनोनीत गरेको थियो। पार्टी विधानअनुसार सभापतिले ११ जना पदाधिकारी मनोनीत गर्न पाउने व्यवस्था छ।

त्यस्तै, ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने प्रावधान रहेको छ। तर आन्तरिक सहमति जुट्न नसक्दा लामो समयदेखि मनोनयन प्रक्रिया टुंगिन सकेको छैन। पार्टी स्रोतका अनुसार ५१ जना मनोनीत केन्द्रीय सदस्यमध्ये प्रधानमन्त्री शाह पक्षले १८ जना पाउने गरी छलफल भइरहेको छ। सो समूहले सांसद नभएका नेताहरूलाई प्राथमिकतामा राखेर नाम सिफारिस गर्ने तयारी गरेको बताइएको छ।

यसैबीच, गृहमन्त्री सुधन गुरुङ पक्षले पनि मनोनयनमा प्रतिनिधित्व खोजेको चर्चा छ। पार्टी स्रोतका अनुसार गुरुङले ‘जेनजी’ पुस्ताबाट सात जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने धारणा राखेका छन्। तर रास्वपाका एक शीर्ष नेताले भने गुरुङ स्वयंले भाग नमागेको, उनका निकट मानिने व्यक्तिहरूले मात्र केन्द्रीय सदस्यका लागि दाबी गरेको बताए।रास्वपाभित्रको शक्ति सन्तुलन मिलाउने प्रयाससँगै अब हुने मनोनयनले पार्टीको आगामी संगठनात्मक दिशा र नेतृत्व संरचनामा प्रभाव पार्ने देखिएको छ।