|  

सञ्चारमा एआई प्रयोगले नयाँ पुस्तालाई जोड्न सकिन्छ : प्रेस काउन्सिल अध्यक्ष श्रेष्ठ

०१ श्रावण, काठमाडाैं । नेपाल प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले सञ्चार क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक प्रविधिको प्रयोगबाट नयाँ पुस्तालाई आकर्षित गर्न सकिने बताएका छन्।

अन्नपूर्ण मिडियाको सुपर एप ‘सम्पूर्ण’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेपाली सञ्चार क्षेत्रमा नयाँ प्रयोग र प्रविधिको आवश्यकता बढ्दै गएको बताए। उनले पत्रपत्रिकाको प्रतिस्पर्धाबीच अन्नपूर्ण मिडियाले सधैं फरक पहिचान बनाउने प्रयास गर्दै आएको उल्लेख गरे। प्रविधिको प्रयोगमार्फत नयाँ पहल अघि बढाएको भन्दै उनले अन्नपूर्ण मिडियालाई धन्यवाद दिए। यद्यपि एआई प्रविधिमा पनि केही कमजोरी रहने भएकाले प्रयोग गर्दा सचेत हुनुपर्ने उनको भनाइ थियो। “एआईले कतिपय अवस्थामा गलत जानकारी दिन सक्छ। पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई काठमाडौंका मेयरका रूपमा प्रस्तुत गरिएको उदाहरण पनि देखियो। त्यसैले यसको प्रयोगमा सावधानी आवश्यक छ,” श्रेष्ठले भने।

उनले पछिल्लो समय मिडिया क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेकाले नयाँ सोच र नवीन प्रयोग आवश्यक रहेको बताए। अन्नपूर्ण मिडियाको सुपर एपले डिजिटल पुस्तालाई सञ्चारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ। कार्यक्रममा अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक बालकृष्ण बस्नेतले प्रविधिसँगै अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए। उनले अन्नपूर्ण पोस्ट्ले सुरुदेखि नै देश र जनताका मुद्दालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे। अबको पत्रकारिताको बाटो डिजिटल माध्यमतर्फ केन्द्रित रहेको बताउँदै बस्नेतले सूचना प्रविधिको उपयोग गरेर पत्रकारितालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले अन्नपूर्ण पोस्ट्ले ‘पिपुल फस्ट’ अवधारणाअनुसार जनताका आवाजलाई प्राथमिकता दिँदै आएको र डिजिटल क्षेत्रमा पनि नेतृत्वदायी भूमिका खेल्ने बताए।

बस्नेतले सामाजिक सञ्जालमा आएका सूचनामै सीमित नभई खोज पत्रकारितालाई बलियो बनाउनुपर्नेमा जोड दिए। “समाचार हामीभित्रै हुन्छ, त्यसलाई पहिचान गर्ने क्षमता विकास गर्नुपर्छ,” उनले भने।