|  

प्रधानमन्त्रीका अभिव्यक्तिदेखि कर नीतिसम्म विरोध, कांग्रेस मकवानपुरद्वारा सरकारलाई ज्ञापनपत्र

०४ श्रावण, काठमाडाैं । नेपाली कांग्रेस मकवानपुरले सरकारका विभिन्न निर्णय र प्रधानमन्त्री बालेन्द्र शाहको संसद् अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण गराएको छ।

कांग्रेसले प्रधानमन्त्री शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति आपत्तिजनक भएको भन्दै उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन र सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ।

साथै नेपाल–भारत सीमा विवादबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने जनाएको छ। जिल्ला सभापति बुद्ध लामा नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर खारेज गर्न, विद्युत्मा लगाइएको भ्याट हटाउन तथा सुकुमबासीमाथि वैकल्पिक व्यवस्थाबिना भइरहेको डोजर अभियान रोक्न माग गरिएको छ। कांग्रेसले सरकारले माग सम्बोधन नगरे सरोकारवालासँग सहकार्य गर्दै शान्तिपूर्ण र चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।