|  

कोलकाता बन्दरगाहबाट पहिलो कार्गो रेल विराटनगर आइपुग्यो, पूर्वी नेपालका उद्योगीलाई राहत

०४, श्रावण, काठमाडाैं । भारतको कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेको पहिलो कार्गो रेल सोमबार विराटनगर कस्टम यार्ड आइपुगेको छ।

शुक्रबार कोलकाताबाट प्रस्थान गरेको रेल सोमबार दिउँसो विराटनगर पुगेको हो। पहिलो कार्गो रेलमार्फत स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ। नेपाल-भारत पारवहन सम्झौताअनुसार तेस्रो मुलुकबाट आउने सामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सार कार्यालयसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएपछि पूर्वी नेपालका उद्योगी तथा व्यवसायीले ढुवानी सहज हुने अपेक्षा गरेका छन्। कार्गो रेल सेवाको औपचारिक सुरुवात कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र कन्टेनर कर्पोरेसन अफ इन्डिया (कोनकोर)का अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाएर गरेका थिए।

विराटनगर पुगेको रेललाई विराटनगर भन्सार कार्यालयका कर्मचारी तथा उद्योगी–व्यवसायीले स्वागत गरेका थिए। यो सेवाले सडकमार्गबाट हुने ढुवानीको समय र लागत घटाउने विश्वास गरिएको छ। यसअघि भारतको बथनाहादेखि विराटनगर कस्टम यार्डसम्म कार्गो रेल सेवा सुरु गर्ने प्रयास भएको थियो। २०८० जेठमा एउटा रेल विराटनगर आए पनि सेवा नियमित हुन सकेको थिएन। पछिल्लो नीतिगत निर्णय र आवश्यक प्रक्रियागत समन्वय पूरा भएपछि भने कोलकाता बन्दरगाहबाट विराटनगरसम्म नियमित कार्गो रेल सञ्चालनको बाटो खुलेको हो। नयाँ व्यवस्थाले पूर्वी नेपालका उद्योगहरूलाई आयात–निर्यात प्रक्रियामा थप सहजता दिने र क्षेत्रीय व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।