|  

वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष

०५ श्रावण, काठमाडाैं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा हुने ठगीलाई न्युनिकरण गर्दै शुन्यमा पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् । 

मङ्गलवार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा उनले वर्षौंदेखि थन्किएर रहेका उजुरीका फाइलहरूलाई व्यवस्थापन गरी दोषीमाथि कारबाही अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । मन्त्री यादवकाअनुसार वि.सं. २०५७ सालदेखि थन्किएर बसेका ४० हजारभन्दा बढी उजुरीका फाइलहरू हालै फेला परेका छन् । दशकौँदेखि कसैले चासो नदिएका यी फाइलहरूलाई विभागको नेतृत्वमा धुलो टकटकाएर व्यवस्थित गर्ने तयारी मन्त्रालयको रहेको पनि बताए । यी सबै फाइललाई डिजिटलाइज गरेर गहिरो अनुसन्धान गरी पीडितहरूलाई न्याय दिलाउने प्रक्रिया अघि बढाइने उनले बताए ।

वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउन मन्त्रालयले नयाँ डिजिटल प्लेटफर्मको शुरुवात गरेको छ । अब उजुरीकर्ताले अनलाइनमार्फत निवेदन दिनसक्ने र प्रणालीले नै स्वतः कानूनी ढाँचा (टेम्प्लेट) तयार गर्ने भएकाले सेवाग्राहीले महँगो कानुनी सहायता लिनु नपर्ने मन्त्री यादवले स्पष्ट पारे । ठगी गर्नेहरूलाई चेतावनी दिँदै उनले जहाँ लुकेर बसे पनि नेपाल प्रहरी र अनुसन्धान निकायको सहयोगमा पक्राउ गरी कानूनअनुसार कारबाही गरिने बताए । पीडितको रकम फिर्ता गराउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । मन्त्री यादवले भने,‘यो नयाँ सरकारप्रति जनताले गरेको विश्वासलाई आत्मसात् गर्दै हामीले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई न्युनिकरण गर्दै अन्ततः शुन्यमा झार्ने लक्ष्य लिएका छौँ । तुरुन्तै परिवर्तन किन देखिएन भन्ने जिज्ञासा स्वाभाविक हो । यसको एउटा प्रमुख कारण २०५७ सालदेखि थन्किएर बसेका उजुरीका फाइलहरू हुन् । ती फाइलहरू वर्षौंसम्म व्यवस्थित रूपमा अध्ययन वा अनुसन्धान हुन सकेका थिएनन् । हाम्रो टोलीले महानिर्देशकज्युको नेतृत्वमा ती फाइलहरूलाई खोजी, व्यवस्थापन र वर्षअनुसार वर्गीकरण गरेको छ । हाल करिव ४० हजारभन्दा बढी फाइल व्यवस्थित गरिएको अनुमान छ । अब ती सबै फाइललाई क्रमशः डिजिटलाइज गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइनेछ, ताकि कुनैपनि उजुरी अलपत्र नपरोस् र पीडितले न्याय पाउन सकून् । अबदेखि अनलाइनमार्फत दर्ता भएका उजुरीहरू स्वतः डिजिटल प्रणालीमा अभिलेख हुनेछन् । प्रणाली यसरी विकास गरिएको छ कि उजुरी दर्ता गर्दा आवश्यक विवरण कानूनी ढाँचाअनुसार स्वतः तयार हुन्छ । यसले सेवाग्राहीलाई कानूनी सहायता लिनुपर्ने झन्झटसमेत कम गर्नेछ । यो प्लेटफर्मले वैदेशिक रोजगार क्षेत्रको डिजिटल रूपान्तरणको सुरुवात गरेको छ। वैदेशिक रोजगारीका नाममा ठगी गर्नेहरूलाई पनि स्पष्ट सन्देश दिन चाहन्छु । तपाईं जहाँ लुकेर बसे पनि नेपाल प्रहरी, सम्बन्धित अनुसन्धान निकाय र वैदेशिक रोजगार विभागको समन्वयमा कानूनी दायरामा ल्याइनेछ । ठगीबाट असुलिएको रकम फिर्ता गराइनेछ र कानूनबमोजिम कारबाही गरिनेछ । हालको प्रणाली विद्यमान कानूनको आधारमा सञ्चालन भइरहेको छ । यसलाई अझ प्रभावकारी बनाउन वैदेशिक रोजगारसम्बन्धी ऐन संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत गरी संसद्मा प्रस्तुत गरेपछि थप आधुनिक र पूर्ण रूपमा डिजिटल प्रणाली लागू गरिनेछ । भविष्यमा वैदेशिक रोजगारसम्बन्धी अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराइनेछ । म्यानपावर कम्पनीमा आवेदन दिन, अन्तर्वार्ताको समय निर्धारण गर्न तथा आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं धाउनुपर्ने अवस्था रहनेछैन । प्रदेशस्तरबाटै सेवा प्रवाह गर्ने व्यवस्था गरिनेछ । यससँगै हामी आन्तरिक रोजगारी सिर्जनामा पनि समानान्तर रूपमा काम गरिरहेका छौँ । युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी पाउने वातावरण बनाउन नयाँ रोजगार नीति तयार भइरहेको छ । रोजगारी प्रवद्र्धनका १५ वटा प्याकेज पनि अध्ययन र तयारीको चरणमा छन् । दीर्घकालीन प्रभाव सुनिश्चित गर्न आवश्यक अध्ययन र तयारीपछि ती कार्यक्रम सार्वजनिक गरिनेछन् । हामीले वर्षौंदेखि अस्तव्यस्त बनेको प्रणालीलाई सुधार्ने काम शुरु गरेका छौँ । जसरी घर बनाउनुअघि जग्गा सफा गर्नुपर्छ, त्यसैगरी अहिले हामी वैदेशिक रोजगार क्षेत्रका विकृति, विसंगति र अनियमितता हटाएर पारदर्शी, मर्यादित र श्रमिकमुखी प्रणाली निर्माण गरिरहेका छौँ । साथै, वैदेशिक रोजगारका सुरक्षित र प्रभावकारी विकल्पहरूको खोजी तथा विकासमा पनि निरन्तर काम गरिरहेका छौँ ।’

मन्त्री यादवले हालको मौजुदा ऐनलाई संशोधन गरी नयाँ युग सुहाउँदो कानून निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । वैदेशिक रोजगारीको विकल्पका रूपमा आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न मन्त्रालयले १५ वटा विभिन्न ‘रोजगार प्याकेज’ ल्याउन लागेको र त्यसका लागि अध्ययन भइरहेको समेत उनले जानकारी दिए । यो प्रणालीलाई मर्यादित, पारदर्शी र श्रमिकमुखी बनाउन अहिले ‘सफाई अभियान’ चलिरहेको उल्लेख गर्दै उहाँले छिट्टै युवाहरूले स्वदेशमै रोजगारी पाउने वातावरण बन्ने विश्वास दिलाएका छन् । न्युज एजेन्सी नेपाल