|  

कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला, ७ हजार २ सय श्रमिक छनोट गरिने

०५ श्रावण, काठमाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवश्यक कोरियाली भाषा परीक्षाको आवेदन खुला गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। नेपाल-दक्षिण कोरियाबीच भएको समझदारीअनुसार यस वर्ष ७ हजार २ सय नेपाली श्रमिक छनोटका लागि आवेदन माग गरिएको छ। एचआरडी कोरियाका अनुसार उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको माग आएको छ। इच्छुक उम्मेदवारले जुलाई २७ देखि अगस्ट २, २०२६ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि उम्मेदवार १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा नबसेको, नेपाल सरकारले वैदेशिक रोजगारीमा रोक नलगाएको तथा ई-९ वा ई-१० भिसामा कोरियामा ५ वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्ने व्यवस्था गरिएको छ।

भाषा परीक्षा दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणको नतिजापछि दोस्रो चरणको परीक्षा लिइनेछ। परीक्षामा सहभागी हुन २८ अमेरिकी डलर शुल्क लाग्नेछ भने अन्तिम परीक्षामा सफल हुने उम्मेदवारको नतिजा दुई वर्षसम्म मान्य रहनेछ। ईपीएस कोरिया शाखाले कोरियाली भाषा परीक्षा उत्तीर्ण गर्नु मात्र कोरियामा रोजगारी सुनिश्चित हुने आधार नभएको स्पष्ट पारेको छ।