|  

निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्न रास्वपाको सांसदलाई निर्देशन

०५ श्रावण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्रको भ्रमणलाई व्यक्तिगत भेटघाटमा सीमित नराखी पार्टीको रणनीतिसँग जोडेर अघि बढाउन निर्देशन दिएको छ।

महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सांसदहरूलाई निर्वाचन क्षेत्रमा जानेअघि पार्टीसँग अनिवार्य समन्वय गर्न, स्थानीय संगठनसँग सहकार्य गर्दै नागरिकका मुद्दा संकलन गर्न र ती विषयलाई संसद्को एजेन्डासम्म पुर्‍याउने गरी काम गर्न आग्रह गरिएको छ। रास्वपाले निर्वाचन क्षेत्रको भ्रमणलाई संगठन सुदृढ गर्ने, जनमत बुझ्ने र पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने अभियानका रूपमा लिनुपर्ने जनाएको छ। साथै संस्थागत समन्वय, स्थानीय मुद्दाको प्राथमिकता, जनपरिचालन, मितव्ययिता, सुशासन र नीतिगत पृष्ठपोषणमा विशेष ध्यान दिन सांसदहरूलाई सचेत गराएको छ।

पार्टीले सांसदको प्रभावकारी भूमिका र संगठनबीचको समन्वयले मात्रै संस्थागत परिपक्वता बढ्ने र जनताप्रतिको जवाफदेहिता थप बलियो हुने विश्वास व्यक्त गरेको छ।