|  

कांग्रेस फुट्नु देशका लागि अभिशाप हुन्छ : भीष्मराज आङ्देम्बे

०६ श्रावण, काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीभित्रको एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले नेताहरूको भूमिका पार्टी फुटाउने नभई संगठनलाई थप बलियो बनाउने हुनुपर्ने बताएका हुन्।नेपाली कांग्रेस भरतपुर महानगर समितिले चितवनमा आयोजना गरेको ४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित वृक्षरोपण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले मुलुकको विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेस एकताबद्ध रहनु अपरिहार्य रहेको बताए।उनले कांग्रेस कमजोर हुने वा विभाजित हुने अवस्था देशकै लागि अभिशाप साबित हुने उल्लेख गर्दै सबै नेता तथा कार्यकर्तालाई एकताको पक्षमा गोलबद्ध हुन आग्रह गरे।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, कांग्रेस नेता डा. केदार नरसिंह केसी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।बीपी स्मृति दिवसको अवसरमा भरतपुर-१० स्थित गेष्टहाउस पछाडिको खुला मैदानमा वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरिएको थियो।