|  

उजुरी अब १ घण्टाभित्र सम्बोधन गर्न श्रम विभागको निर्देशन

०६ श्रावण, काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा सेवाग्राहीका उजुरी तथा निवेदन प्राप्त भएको एक घण्टाभित्रै आवश्यक प्रक्रिया अघि बढाई सम्बोधन गर्न आफ्ना मातहतका निकायलाई निर्देशन दिएको छ।

विभागले श्रम तथा रोजगार कार्यालयहरू तथा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त उजुरी वा निवेदन एक घण्टाभित्र सम्बोधन गरी त्यसको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो। विभागका अनुसार विभिन्न माध्यमबाट प्राप्त गुनासो समयमै सम्बोधन नहुने, सेवाग्राहीसँग कर्मचारीको व्यवहारप्रति असन्तुष्टि रहने तथा न्याय प्रदान गर्न ढिलाइ हुने विषयमा लगातार गुनासो आएपछि यस्तो निर्देशन जारी गरिएको हो। यस्ता गुनासाहरू हेल्लो सरकार, मन्त्रालय, विभाग तथा कार्यालयमा प्रत्यक्ष रूपमा दर्ता भएका थिए।

निर्देशनमा कर्मचारीहरूले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती सेवा ऐन, २०४९ अनुसार आफ्नो जिम्मेवारी र आचरण पालना गर्नुपर्ने उल्लेख गरिएको छ। कुनै विषय सम्बन्धित कार्यालयको अधिकारक्षेत्रभन्दा बाहिर भएमा सेवाग्राहीलाई तत्काल जानकारी गराई सम्बन्धित निकायमा पठाउने व्यवस्था गर्न पनि भनिएको छ। विभागले श्रमिकका उजुरीमा सम्बन्धित प्रतिष्ठानबाट समयमै प्रतिक्रिया लिन, श्रम कानुनअनुसार वार्ताको प्रक्रिया अघि बढाउन तथा वार्ताबाट समाधान ननिस्किए कार्यालयले यथाशीघ्र निर्णय गर्नुपर्ने निर्देशन दिएको छ। साथै श्रम अदालत र श्रम कार्यालयबाट भएका आदेश तथा निर्णयहरू समयमै कार्यान्वयन गर्न पनि जोड दिइएको छ।

त्यसैगरी, हेल्लो सरकारमार्फत प्राप्त गुनासो समाधान भएपछि त्यसबारे सम्बन्धित निकायमा तत्काल जानकारी गराउन विभागले निर्देशन दिएको छ। विभागको विश्वास छ कि नयाँ व्यवस्थाले श्रमिकका गुनासोको छिटो सुनुवाइ हुने, सेवा प्रवाह प्रभावकारी बन्ने र श्रम प्रशासनप्रति विश्वास बढ्नेछ।