|  

मोहनबहादुर बस्नेतको आह्वान: आजै राष्ट्रिय भेला गरी नयाँ पार्टी निर्माण सुरु गरौं

०६ श्रावण, काठमाडाैं ।  नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले पार्टीभित्रको आन्तरिक विवाद अब संवाद र एकताले मात्र समाधान नहुने भन्दै नयाँ राजनीतिक शक्तिको निर्माणतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले तत्काल राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रिया सुरु गर्नुपर्ने आवश्यकता औँल्याए। उनले पार्टी नेतृत्वले भदौ २ गतेदेखि वडा अधिवेशनको तयारी गरिरहे पनि आफूहरू एकताको आशामा मात्र बसिरहन नसक्ने बताए।उनले देशभर समानान्तर भ्रातृ संगठन विस्तार गर्दै महिला, विद्यार्थीलगायत सबै तहका संगठनलाई सक्रिय बनाउने तयारी गर्नुपर्नेमा जोड दिए। बस्नेतले संस्थापन इतर पक्षले सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गरी त्यसको लगत्तै केन्द्रीय भेला गर्नुपर्ने प्रस्ताव अघि सारेको उल्लेख गर्दै अब त्यसमा ढिलाइ गर्न नहुने बताए। उनका अनुसार केन्द्रीय भेलाबाट भावी राजनीतिक दिशाबारे स्पष्ट निर्णय लिनुपर्ने समय आएको छ।

उनले आफूहरूको उद्देश्य नेपाली कांग्रेस फुटाउनु नभई नयाँ राजनीतिक विकल्प निर्माण गर्नु रहेको स्पष्ट पारे। साथै, महामन्त्री गगन थापासँग लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने कांग्रेसजन र प्रजातन्त्रवादी शक्तिहरूलाई कमजोर अवस्थामा पुग्न नदिनुपर्ने धारणा पनि व्यक्त गरे। "हामी कमजोर पार्टीको नेता बन्नुभन्दा बलियो पार्टीको कार्यकर्ता बन्न तयार हुनुपर्छ," भन्दै बस्नेतले नयाँ राजनीतिक अभियानलाई संगठित रूपमा अघि बढाउन सबैलाई आह्वान गरे।