|  

सीआईएका अखडामा इरानको प्रहारःरुसी संलग्नताबारे अमेरिकाको गुप्तचर अनुसन्धान

७ श्रावण, काठमाडौं ।  खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसी संलग्नता हुन सक्ने आशंका गर्दै अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान सुरु गरेका छन् ।

अमेरिकी गुप्तचर निकायबारे जानकार अधिकारीहरूका अनुसार, रुसले इरानलाई निशाना सम्बन्धी गोप्य जानकारी वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएर सहयोग गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ । राष्ट्रिय सुरक्षाका विषयमा नाम नखुलाउने सर्तमा ती अधिकारीहरूले सीआईए सुविधाहरूमा भएका आक्रमणमा रुसको प्रत्यक्ष संलग्नताबारे हालसम्म कुनै ठोस निष्कर्षमा नपुगिएको बताएका छन् ।

तर, आक्रमणको अचुक निशाना, उच्च प्रभावकारिता र इरानलाई रुसले लगातार दिँदै आएको प्राविधिक सहयोगका कारण रुसी संलग्नताको बलियो सम्भावना रहेको उनीहरूको भनाइ छ।मार्च महिनामा खाडी क्षेत्रका कम्तीमा दुईवटा सीआईए ठेगानाहरूमा आक्रमण भएको थियो ।

जसमध्ये एउटा साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासभित्र रहेको सीआईए स्टेशन र अर्को पूर्वी इराकमा रहेको ठेगाना थियो । केही स्रोतहरूले सीआईएको थप अन्य गोप्य ठेगानाहरूमा पनि क्षति पुगेको दाबी गरेका छन्।