|  

अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा

७ श्रावण, काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आफ्नो पार्टी संविधान संशोधन गर्न समेत तयार रहेको बताएका छन् ।

४४ औँ वीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले वर्तमान सरकारले संविधानको पालना गरे/नगरेको विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री समेत संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिए ।

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक शक्तिशाली निकाय भएपनि पछिल्लो समय संवैधानिक संस्थाहरू प्रभावकारी हुन नसकेको उनको टिप्पणी छ । सरकार वा मन्त्रीहरूले बदनियतपूर्वक गर्ने गैर कानुनी कामको छानबिन गर्ने संवैधानिक जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उनले संस्थाहरूलाई पङ्गु बनाइनु चिन्ताजनक रहेको बताए । थापाले अख्तियारको क्षमता अभिवृद्धि र संरचनागत सुधारका लागि नेपाली काँग्रेसले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

‘हाम्रो प्रश्न स्पष्ट छ, नेपालको वर्तमान सरकारले संविधान मान्छ कि मान्दैन ? हामी सबै संविधानको पालना गर्न प्रतिबद्ध छौँ । त्यसैले अहिलेको प्रधानमन्त्री पनि संविधानको दायराभित्र हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न उठेको छ,’ सभापति थापाले भने, ‘संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो शक्तिशाली संवैधानिक निकायको व्यवस्था गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ सक्षम, प्रभावकारी र स्वतन्त्र बनाउन आवश्यक परे यसको संरचनागत सुधार गर्न हामी तयार छौँ ।’

उनले अगाडि भने, ‘यदि त्यसका लागि संविधान संशोधन गर्नुपर्छ भने त्यसबारे पनि छलफल गर्न तयार छौँ । आवश्यक परे आयोगका पदाधिकारीको संख्या बढाउने विषयमा पनि हामी खुला छौँ । हाम्रो उद्देश्य राजनीतिक प्रभाव र हस्तक्षेपबाट मुक्त, सक्षम र प्रभावकारी अख्तियार निर्माण गर्नु हो ।’

सभापति थापाले राजनीतिक दलको प्रभावबाट मुक्त र स्वायत्त संवैधानिक निकाय निर्माण नै काँग्रेसको मुख्य चाहना रहेको स्पष्ट पारे ।