|  

प्रधानन्यायाधीश शर्मा भारत भ्रमणमा, सूर्यकान्तसँग न्यायिक अनुभव आदानप्रदान हुने

०८ श्रावण, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारतको पाँच दिने भ्रमणमा गएका छन्।

भारतका प्रधानन्यायाधीश सूर्यकान्तको निमन्त्रणामा बिहीबार भारत प्रस्थान गरेका शर्मा नेतृत्वको टोली सोमबार नेपाल फर्कने कार्यक्रम रहेको सर्वोच्च अदालतले जनाएको छ। भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन गर्नुका साथै दुई देशका न्यायालयबीच अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

यता, प्रधानन्यायाधीश शर्माको भारत भ्रमण त्यहाँको पछिल्लो न्यायिक र राजनीतिक बहसका बीचमा परेको छ। भारतीय प्रधानन्यायाधीश सूर्यकान्तको केही समयअघिको एक अभिव्यक्तिलाई लिएर आलोचना र विरोध प्रदर्शन भइरहेका बेला शर्मा भारत पुगेका हुन्। सूर्यकान्तले बेरोजगार युवाबारे गरेको टिप्पणी विवादित बनेपछि उनले सार्वजनिक रूपमा स्पष्टीकरण दिँदै उक्त भनाइ विशेष सन्दर्भमा आएको बताएका थिए। सोही घटनापछि केही युवाको समूहले ‘कक्रोच जनता पार्टी’ नामक संगठन बनाएर विरोध कार्यक्रमसमेत गर्दै आएको समाचारहरू सार्वजनिक भएका छन्।

भारतमा भइरहेका घटनाक्रमबारे विभिन्न कानुन व्यवसायीहरूले फरक धारणा राखेका छन्। वरिष्ठ अधिवक्ता बाबुराम गिरीले दुई देशका प्रधानन्यायाधीशबीचको भेटघाट र अनुभव आदानप्रदान स्वाभाविक प्रक्रिया भएको बताए। अधिवक्ता इन्द्र अर्यालले पनि यस्तो भ्रमण व्यक्तिगत नभई संस्थागत प्रकृतिको हुने भएकाले भारतको आन्तरिक घटनाक्रमसँग जोडेर हेर्न आवश्यक नरहेको धारणा राखे।