|  

प्रचण्डको टिप्पणी : सत्ता र सरकारमै केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन कमजोर बन्यो

०८ श्रावण, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट शक्तिहरू सत्ता र सरकार सञ्चालनमै बढी केन्द्रित हुँदा वैचारिक पक्ष कमजोर भएको बताएका छन्।

उनले यही कमजोरीका कारण नेपालमा कम्युनिस्टविरोधी शक्तिहरूले दीर्घकालीन रणनीति बनाउन अवसर पाएको दाबी गरे। शुक्रबार आयोजित पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टहरू परम्परागत वैचारिक प्रशिक्षण र संगठन विस्तारमा पर्याप्त ध्यान नदिँदा अहिले चुनौतीहरू बढेको बताए। उनका अनुसार नेपालमा कम्युनिस्ट प्रभाव बढ्दै गएपछि विरोधी शक्तिहरूले त्यसलाई कमजोर पार्ने उद्देश्यसहित लामो समयको योजना बनाएको उनको भनाइ थियो।‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू रणनीतितर्फ लागेछन्। नेपालमा कम्युनिस्ट बढी भए, यिनलाई ठीक पार्नुपर्छ भनेर २० वर्षे योजना बनाएछन्,’ प्रचण्डले भने।

उनले विरोधी शक्तिहरूको गतिविधिबारे सामान्य जानकारी भए पनि नेपाललाई एकैपटक ठूलो क्षति पुर्‍याउने स्तरको तयारी हुनसक्छ भन्ने अनुमान नगरिएको बताए। प्रचण्डले शान्ति सम्झौतापछि कम्युनिस्ट शक्तिहरू काठमाडौंको सत्ता राजनीति र सरकार सञ्चालनका विषयमा बढी अल्झिएको टिप्पणी गरे। सरकार बनाउने, मन्त्री नियुक्त गर्ने, स्थानीय तह तथा प्रदेशमा निर्वाचित हुने विषयलाई नै मुख्य लक्ष्य ठान्नु कमजोरी भएको उनको भनाइ थियो। ‘हामीले रणनीतिक पक्षलाई भुल्यौं वा कमजोर आँकलन गर्‍यौं। विचार निर्माण र निरन्तर वैचारिक स्कुलिङको आवश्यकता ओझेलमा पर्‍यो,’ उनले भने। उनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन सत्ता प्राप्तिसँगै विचार, संगठन र वैचारिक प्रशिक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।