|  

खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो

०८ श्रावण, काठमाडाैं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकको दक्षिणी सीमा क्षेत्रमा खुला सीमानाका कारण सिर्जित विविध सुरक्षा चुनौतीहरू सम्बोधन गर्न प्रहरी सक्रियतापूर्वक परिचालित रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्दै महानिरीक्षक कार्कीले सीमा सुरक्षा, संगठित अपराध र पछिल्लो समय बढ्दै गएको डिजिटल ठगीका विषयमा गम्भीर चासो व्यक्त गर्नुभएको हो । महानिरीक्षक कार्कीकाअनुसार १ हजार १०४ किलोमिटर लामो दक्षिणी सीमा क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरीका ३ सय ६ वटा इकाइहरू परिचालित छन् । यसमा स्थायी युनिटका साथै नागरिकको सुरक्षार्थ स्थापना गरिएका अस्थायी प्रहरी चौकीहरू समेत समावेश छन् । सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षा र प्रहरीसम्मको सहज पहुँच सुनिश्चित गर्न यी इकाइहरूले महत्वपूर्ण भुमिका खेलिरहेको उहाँले उल्लेख गर्नुभयो । बैठकमा महानिरीक्षक कार्कीले खुला सीमानाका कारण निम्तिएका सुरक्षा चुनौतीहरूको चर्चा गर्नुभयो । उहाँले लागुऔषधको अवैध ओसारपसारले तराईदेखि हिमालका चुचुरासम्मका युवाहरू प्रभावित भएको बताउनु भयो । लागुऔषध मात्र नभई हातहतियार र विस्फोटक पदार्थको ओसारपसार, सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि र मानव बेचबिखन जस्ता संगठित अपराध नियन्त्रण गर्नु प्रहरीको मुख्य चुनौती बनेको बताउनु भयो । महानिरीक्षक कार्कीले भन्सार छली र तस्करी नियन्त्रणलाई राष्ट्रिय सुरक्षा र आन्तरिक आर्थिक सुरक्षासँग जोडेर हेर्नुपर्ने बताउनु भयो । सीमा क्षेत्रमा हुने अपहरण र शरीर वन्धक जस्ता घटनाले नागरिकको सुरक्षा अनुभूतिमा प्रत्यक्ष असर पु¥याएको उहाँको भनाइ छ । 

पछिल्लो समय नक्कली मुद्राको कारोबार र डिजिटल ठगी नयाँ चुनौतीका रूपमा उदाएको उहाँले जानकारी दिनुभयो । सीमापारि नक्कली नेपाली रुपैयाँ उत्पादन गरी नेपालमा वितरण गर्ने गरिएको र डिजिटल वालेटमार्फत नागरिकको बैंक खाताबाट रकम चोरी हुने घटनाहरू बढेको उहाँले बताउनु भयो । चिट्ठा परेको प्रलोभन देखाएर गरिने साइबर ठगी, अनलाइन सट्टेबाजी र हुण्डी कारोबारले वित्तीय सुरक्षामा गम्भीर असर पारेको उहाँले औंल्याउनु भयो । सीमा क्षेत्रमा हुने डुबान, वन पैदावार र नदीजन्य पदार्थको अवैध दोहन तथा कवाडी सामानको तस्करीका कारण समूहगत द्वन्द्व बढ्ने गरेको उहाँले उल्लेख गर्नुभयो । यस्ता गतिविधिले वातावरणीय समस्याका साथै शान्ति सुरक्षामा समेत खलल पु¥याएको उहाँको ठहर छ । उहाँले भन्नुभयो, ‘दक्षिणी सीमाको १,१०४ किलोमिटर क्षेत्रमा नेपाल प्रहरीले ३०६ वटा प्रहरी इकाइ (अस्थायी प्रहरी चौकीसहित) परिचालन गरी सीमावर्ती नागरिकको सुरक्षा गर्दै आएको छ । दक्षिणी सीमामा खुला आवतजावतका कारण लागुऔषध ओसारपसार, हातहतियार तथा विस्फोटक पदार्थको तस्करी, संगठित अपराध, मानव बेचबिखन, मानव तस्करी, अवैध भन्सार छली, तस्करी, अपहरण, नक्कली मुद्रा, हुन्डी कारोबार, साइबर तथा वित्तीय ठगी, जुवा–सट्टेबाजी, महिला तथा बालबालिकाको अवैध ओसारपसार, वन पैदावार, नदीजन्य पदार्थ र कवाडी वस्तुको अवैध निकासी–पैठारीजस्ता चुनौतीहरू रहेका छन् । प्राकृतिक विपद्का कारण उत्पन्न हुने सुरक्षा चुनौती पनि उत्तिकै महत्वपूर्ण छन् । यी चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीले सीमावर्ती सुरक्षा निकायसँग समन्वय गर्दै नियमित निगरानी, गस्ती र संयुक्त सुरक्षा अभियान सञ्चालन गरिरहेको छ । गएको आर्थिक वर्षमा मात्रै सीमाक्षेत्रमा १,३६९ पटक अनुगमन, २९७ वटा नियमित गस्ती र १,२०१ वटा संयुक्त गस्ती सञ्चालन गरिएको छ । आगामी दिनमा पनि सीमा सुरक्षा र नागरिकको सुरक्षालाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।’

सीमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरीले गत आर्थिक वर्षमा विशेष सक्रियता देखाएको छ । महानिरीक्षक कार्कीकाअनुसार सो अवधिमा सीमा क्षेत्रमा मात्रै १ हजार ३ सय ६९ पटक अनुगमन र २ सय ९७ पटक विशेष गस्ती गरिएको छ । यस्तै, अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा १ हजार २ सय १ वटा संयुक्त गस्ती सम्पन्न गरिएको जानकारी उहाँले समितिलाई दिनुभयो । –न्युज एजेन्सी नेपाल