|  

अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’

 

०८ श्रावण, काठमाडाैं । नेपालमा अनैतिक गतिविधिमा संलग्न ४७ जना विदेशी महिलालाई डिपोर्ट (देश निकाला) गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रवार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरका एसपी पवनकुमार भट्टराईले ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा ४७ जनालाई अध्यागमन विभागमार्फत देश निकाला गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार अन्य दश जनामाथि अनुसन्धान जारी छ । उहाँले अनलाइन बेटिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीहरूको ठूलो रकम हुण्डी र क्रिप्टोमार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी गराउनुभयो । उहाँले यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तिब्र बनाइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘काठमाडौंलाई पर्यटकहरुले टुरिस्टिक हबको रुपमा लिने ठमेल, दरबारमार्ग लगायतको क्षेत्रमा एउटा समस्या इस्यु देखियो । त्यहाँ विदेशी महिलाहरु अनैतिक क्रियाकलाप गर्न पाइन्छ भन्ने प्रकारको सोच बनाएर तथा नेपालमा सस्तो जीवनयापन अपर्चुनिटी र नाइट लाइफ छ भनेर पनि आएको देखियो । हामीले स्थानीयको गुनासोको आधारमा विशेष अपरेशन सञ्चालन गरेर ५७ जनालाई पक्राउ ग¥यौं ।  त्यसमध्ये  ४७ जनालाई देश निकाला (डिपोर्ट) गरेर युगान्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बंगलादेश, केन्या र इन्डोनेसिया पठाइएको छ । १० जनामाथि अहिले पनि अनुसन्धान भइरहेको छ ।’

उहाँका अनुसार सार्वजनिक सेवा प्रवाहमा अवरोध पु¥याउने विचौलियाविरुद्धको अभियानमा प्रहरीले ३०९ जनालाई पक्राउ गरेको छ । तीमध्ये ६१ जनामाथि कानुनी कारबाही अघि बढाइएको छ एसपी भट्टराईले जानकारी दिनुभयो ।–न्युज एजेन्सी नेपाल