|  

सामाजिक सञ्जालमा भाइरल भएका ३ बालिकालाई गाउँपालिकाले उच्च शिक्षासम्म निःशुल्क पढाउने

९ श्रावण, काठमाडौं ।   रोल्पामा सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन् ।

पानी परिरहेका बेला रेनकोट ओढेर विद्यालय जाँदै गर्दा भाइरल भएका मनजीता पुन, सियाँ घर्ती र मनजीता घर्तीलाई स्थानीय बोर्डिङ स्कुल र गाउँपालिकाले निःशुल्क पढाउने प्रतिवद्धता गरेका हुन् ।अहिले सियाँ ३ वर्षकी छन् भने दुई मनजीता ५ र ६ वर्षका छन् ।

रुन्टीगढी गाउँपालिका–४ टोलबाङका उनीहरुलाई सुर्पाल बजारमै रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा, नर्सरी, एलकेजी र एक कक्षामा अध्ययनरत छन् ।उनीहरुलाई हाल पढीरहेकै विद्यालयले कक्षा–६ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छ ।

कक्षा-७ देखि उच्च शिक्षा (स्नातक)सम्म भने रुन्टिगढी गाउँपालिकाले अध्ययन गराउने प्रतिबद्धता जनाएको छ ।

तीनै बालिकाका बुवाहरू रोजगारीका सिलसिलामा विदेश रहेका छन् । दुई जना एकै घरका हुन् भने एक जना छिमेकी हुन् ।