०९ श्रावण, काठमाडाैं । राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२ औं जन्मजयन्तीको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान अर्पण गरेका छन् ।
शनिवार काठमाडौंको धरहरा परिसरमा प्रधानसेनापति सिग्देलले उनको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गरेका हुन् । सोही अवसरमा नेपाली सेनाको श्री रणभैरव गणबाट सम्मान सलामी अर्पण गरिएको थियो । स्मृति सभा तथा सम्मान अर्पण समारोहमा बोल्दै भीमसेना थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पृथ्वीश्वरप्रसाद तिमिल्सिनाले भीमसेन थापाको कार्यकालमा भएका प्रशासनिक सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिहरूलाई अभिलेखवद्ध गर्ने उद्देश्यले पुस्तकहरू तयार पारिएको बताए । प्रा.डा. तिमिल्सिनाले ती कृतिहरू नेपाली सेना र नीति निर्माताहरूका लागि विशेष महत्वपूर्ण हुनसक्ने उल्लेख गरे। प्रतिष्ठानले हालसम्म तीनवटा भाग प्रकाशित गरिसकेको र आगामी वर्षहरूमा अन्य थप डकुमेन्टहरू पनि सार्वजनिक गर्दै जाने लक्ष्य राखेको छ । विशेषगरी युवा पुस्ता र अध्येताहरूका लागि यी सामग्रीहरू ज्ञानको महत्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गरिएको छ । भीमसेन थापाको योगदानलाई जीवन्त राख्न र ऐतिहासिक तथ्यहरूलाई संस्थागत गर्न प्रतिष्ठान सक्रिय रूपमा लागिपरेको तिमिल्सिनाले स्पष्ट पारे । उनले भने,‘यी दस्तावेजहरूले तत्कालीन नेपालको रक्षा नीति, कुटनीतिक अभ्यास र सामाजिक संस्कार बुझ्न ठूलो सहयोग पु¥याउनेछन् । कुनै अध्ययन समिति बनाएर यसको विस्तृत विश्लेषण गरिएमा देशको परराष्ट्र र रक्षा नीति निर्माणमा समेत ठोस योगदान पुग्न सक्छ ।’
प्रा.डा. बुद्धिबहादुर थापाले नेपालको अस्तित्व र राष्ट्रिय स्वाभिमान रक्षाका लागि भीमसेन थापालगायत सम्पूर्ण राष्ट्रिय विभूतिहरूले पु¥याएको योगदान अतुलनीय रहेको बताए । उनले पूर्खाहरूले देशका निम्ति बगाएको रगत र दिएको बलिदानबाट प्रेरणा लिँदै नेपालको स्वाभिमानलाई अक्षुण्ण राख्न आगामी पुस्ता सधैँ प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । उनले आपसी एकता र विकासका लागि सबैलाई हातेमालो गर्न समेत आह्वान गरे । डा. थापाले भने,‘नेपाल आमाको अस्तित्व र स्वाभिमान जोगाउन भीमसेन थापालगायतका विभूतिहरूले दिनुभएको योगदान र बलिदानबाट हामी प्रेरित हुनुपर्दछ । उहाँहरूको पदचाप पछ्याउँदै देशको गौरव बढाउनु हाम्रो कर्तव्य हो ।’
कार्यक्रममा बोल्दै बाबुराम सिंह थापाले वर्तमान समयमा राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले इतिहासका विभिन्न कालखण्डमा देशभक्त र देशद्रोही गरी दुईवटा धार देखिने गरेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा देशभक्तिको धार रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे । उनले देशभक्तहरूले जस्तोसुकै कठिन परिस्थिति र यन्त्रणा सहेर पनि राष्ट्रका लागि लडिरहने बताए । थापाले अबको समयमा कुनै निश्चित वंश वा जातिका आधारमा नभई सम्पूर्ण देशभक्त नेपालीहरू एकै ठाउँमा उभिएर देश जोगाउनुपर्नेमा जोड दिए । थापाले भने,‘मुलुकको इतिहासमा भीमसेन थापा, पृथ्वीनारायण शाह, कालु पाँडे, काजी शिवराम सिंह बस्न्यात, बहादुर शाह र बडाकाजी अमरसिंह थापा जस्ता महापुरुषहरूले आफ्नो बलिदान दिएर देशको अस्तित्व थामेका हुन् । वर्तमानमा देशद्रोही तत्वहरूको सक्रियता बढ्दा राष्ट्रले संकट व्यहोर्नुपरेको छ ।’
विश्व राजनीतिको बदलिँदो र जटिल परिस्थितिका कारण नेपाल जस्ता साना राष्ट्रहरूको अस्तित्वमाथि नै चुनौती थपिएको चर्चा गर्दै उनले यस्तो विषम परिस्थितिमा सबै देशभक्त नागरिकहरू अग्रसर हुनुको विकल्प नरहेको बताए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar