|  

घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृ#त्यु, बाबु–आमा घाइते

९ श्रावण, काठमाडौं ।  मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथि पहिरो खस्दा ३ वर्षीय रमेश बडुवालको मृत्यु भएको छ ।

सुतिरहेका बेला आएको पहिरोले घर पुरिँदा बालक गम्भीर घाइते भएका थिए । प्रहरी टोलीले तत्काल उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्‍याए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घटनामा बालकका बुवा ३२ वर्षीय जगन्नाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको र स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । थप जोखिमका कारण स्थानीय प्रशासनले आसपासका आठ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।