०९ श्रावण, काठमाडाैं । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न एक महिने बारिष्टा तालिम दिईएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा ब्लु डायमण्ड सोसाइटी (बीडिएस) को समन्वयमा बारिष्टा तालिम दिइएको हो । सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेर एक महिने तालिमको समापन समेत गरिएको छ । तामिलमा सहभागीहरुलाई एक कार्यक्रमका बीच एसटीपीका राष्ट्रिय परियोजना प्रमुख धर्मराज दवाडी, ब्लु डायमण्ड सोसाइटीकी पूर्वअध्यक्ष पिङ्की गुरुङ र अध्यक्ष उमेश पाण्डे (उमेशा)ले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा एसटीपीका राष्ट्रिय परियोजना प्रमुख धर्मराज दवाडीले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यक्रमअन्तर्गत कम्तीमा ४० प्रतिशत सहभागिता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट सुनिश्चित गर्ने नीति लिएको जानकारी दिए । यसअघि पनि यस समुदायका लागि नेपालमै पहिलो पटक ट्रेकिङ गाइड तालिम सञ्चालन गरिएको स्मरण गराउँदै उनले अहिले बारिष्टासँगै स्पा तथा मसाजसम्बन्धी तालिम पनि सञ्चालन गरिएको बताए । उनकाअनुसार तालिमपछि रोजगारीसँग जोड्ने, सामूहिक रूपमा स्पा सेन्टर स्थापना गर्ने तथा पर्यटन क्षेत्रका विभिन्न सेवा प्रदायकसँग समन्वय गरी रोजगारीका अवसर विस्तार गर्ने योजना अघि बढाइएको छ । सहभागीलाई आफैं पनि सक्रिय भएर होटल, रेस्टुरेण्ट तथा अन्य सेवा क्षेत्रमा रोजगारी खोज्न उनले आग्रह गरे । उनले भने,‘हामीले पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने कार्यक्रमको तर्जुमा गर्दा कम्तीमा ४० प्रतिशत सहभागीता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट होस् भन्नेमा बढी जोड दिएका छौँ । यसभन्दा अगाडी पनि हामीले नेपालमै पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङख्यक समुदायको लागि ट्रेकिङ गाइडको तालिम दिएका थियौँ । यसमा बिडिएसले नै संयोजन गरेको थियो । हामीले सानो भएपनि इन्टरभेन्सन गरौँ, पर्यटनको मूलधारमा कसरी ल्याउन सकिन्छ, यो समुदायलाई भन्ने हिसावले हामीले काम गरेका छौँ । त्यसैगरी अहिले पनि हामी यो बारिष्टा ट्रेनिङको सन्दर्भमा जोडिएका छौँ, स्पा र मसाजको ट्रेनिङ पनि हाल चलिरहेको छ । त्यो ट्रेनिङ पछाडि हामीले फेरि एउटा सामुहिक रूपमा स्पा सेन्टरलाई कसरी इस्टाब्लिस गर्न सकिन्छ भनेर पनि प्लानिङमा गरिरहेका छौँ, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएका समुदायहरूबाट पर्यटनसँग जोडिएको तालिममा सहभागी भएपछि उहाँहरुलाई रोजगारी अवसर गर्ने कुरामा पनि हामीले विशेष ध्यान दिईरहेका छौँ । आगामी दिनमा तालिम दिइसकेपछि रोजगारीमा कसरी लान सकिन्छ भन्ने पनि हाम्रो प्राथमिकता हो । तर एकैचोटी सबैलाई रोजगारीमा लैजान नसकिएला तथापि तालिम लिएपछि रोजगारीमा जान सक्ने सम्भावना भएका क्षेत्रहरू छन् । यहाँहरूलाई मेरो विशेष अनुरोध के छ भने यो तालिमको लागि तालिम भन्दापनि यहाँहरूले आफूले पनि अलिकति प्रो–एक्टिभ भएर, यो सिकेको छु के छ जब अपर्चुनिटी भन्ने हिसाबले पनि लाग्नुहोला । हामीसँग भएका रेस्टुरेन्ट बारहरू, होटलहरू र अन्य सर्भिस प्रोभाइडरहरूलाई पनि आफूले पर्सनल एप्रोचमा पनि आठ–दश वटा ठाउँमा तपाईँहरूले बुझेर काम गर्न थाल्नुभयो भने त्यसरी नै विस्तारै रोजगारिका सम्भवनाहरु सिर्जना हुँदै जानेछन् । केही समय अगाडि हामीले बहिरा व्यक्तिहरूलाई बारिष्टाको तालिम दिएका थियौँ, २५ जनामा २० जना बहिरा व्यक्तिहरूलाई हामीले तालिम दिँदाखेरि तीन जनाले उहाँहरू आफैँले क्याफे खोल्नुभयो । यसरी हामीलाई पनि त्यो अपर्चुनिटी चाहिँ क्रिएट हुन्छ । तपाईँहरूको पनि अलिकति प्रो–एक्टिभनेस चाहीँ चाहिन्छ ।’
ब्लु डायमण्ड सोसाइटीकी पूर्वअध्यक्ष पिङ्की गुरुङले सीप नै व्यक्तिको सबैभन्दा ठूलो सम्पती भएको उल्लेख गर्दै अधिकारको सुनिश्चिततासँगै आर्थिक रूपमा सक्षम हुन व्यावसायिक सीप अपरिहार्य रहेको बताए । उनले समुदायका सदस्यहरूलाई आत्मनिर्भर बनाउन पर्यटन, निजी क्षेत्र तथा अन्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा बीडिएसले निरन्तर काम गरिरहेको जानकारी दिए । उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हरेक क्षेत्रमा बढ्दै गएमात्र समावेशी वातावरण निर्माण हुने र समुदायका अधिकार थप सशक्त बन्ने उल्लेख गरे । उनले भने,‘सीप भनेको तपाईंको सम्पती हो, भविष्य पनि हो । सीप तपाईंको जीवन पनि हो । जसको हातमा सिप छ, भनिन्छ त्यो कहिल्यै भोकै मर्नुपर्दैन, कहिल्यै बेरोजगार बस्नुपर्दैन । सरकारले जतिसुकै अधिकार दिएपनि तपाईंहरू सक्षम हुनुपर्छ । आफू सक्षम हुने भनेको तपाईंको शिक्षा, तपाईंको क्षमता, तपाईंको सीप नै हो । हामी जीवन जिउनको लागि केही न केही त गर्नैपर्छ । हामी अरूको अधिनमा रहेर बाँचिरह्यौं भने हामी आफू आत्मनिर्भर बन्न सक्दैनौं । आत्मनिर्भर हुनको लागि सीप एकदम आवश्यकता पर्छ । त्यो सिप तपाईंले सिक्नुभएको छ, त्यो सिपलाई प्रयोग गर्नुस् । अधिकारको कुराहरू संविधानमा लेखिए पनि कानूनमा सम्बोधन गरिएता पनि अथवा जति जे नै भएता पनि हामी आफू सक्षम हुन सकेनौं भने हामीले अधिकारहरू प्राप्त गर्न सक्दैनौं । अब हामीले कामको अधिकार खोज्नुपर्छ, त्यसको लागी हामी सक्षमता हुनैपर्छ ।’
ब्लु डायमण्ड सोसाईटीका अध्यक्ष उमेश पाण्डे (उमेशा)ले सीप सिकेरमा मात्रै नहुने उल्लेख गर्दै तालिममा सहभागीहरुलाई सीपको सदुपयोग गर्न आग्रह गरे । उनले लक्ष्यमा पुग्नको लागि संघर्ष गर्नुपर्ने बताए । उनले आफूले सिकेको सीपको सही सदुपयोग गरे नेपालको पर्यटन क्षेत्रमा योगदान दिन सकिने बताएए । बीडिएसले पनि समुदायको लागि रोजगारी सिर्जना गर्न पहल गरिरहेको उनको भनाई छ ।
तालिममा सहभागी श्याम ढकाल, मौसमी गुरुङ, एञ्जल थापा र कल्पना थापाले तालिमबाट आफूहरुमा व्यावसायिक ज्ञान र आत्मविश्वास दुवै बढेको बताए । उनीहरुले अब पर्यटन क्षेत्रमा रोजगारी गर्ने तथा भविष्यमा आफ्नै कफी सप सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनीहरूले भविष्यमा आफ्नै व्यवसायमार्फत समुदायका अन्य सदस्यलाई समेत रोजगारी दिने योजना रहेको सुनाए ।
तालिममा ३२ जना सहभागी थिए । सहभागीहरुलाई टिटुङ क्याफेले बारिष्टासम्बन्धी तालिम दिएको थियो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar