|  

अवैध आयुर्वेद औषधिविरुद्ध प्रमाण संकलन अभियान, चिकित्सक सङ्घको सार्वजनिक अपिल

०९ श्रावण, काठमाडाैं । नेपाल आयुर्वेद चिकित्सक सङ्घले गैरकानुनी रूपमा उत्पादन तथा बिक्री-वितरण भइरहेका आयुर्वेद औषधि र भ्रामक विज्ञापनविरुद्ध प्रमाण संकलन अभियान थालेको छ।

सङ्घले चिकित्सक, व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई यस्ता गतिविधिसम्बन्धी विश्वसनीय प्रमाण उपलब्ध गराएर अभियानमा सहयोग गर्न आग्रह गरेको हो। सङ्घका अनुसार गृह मन्त्रालय र नेपाल प्रहरीसँगको समन्वयमा अवैध गतिविधिमाथि अनुसन्धान र कानुनी कारबाही भइरहेको भए पनि दर्ताबिनाका औषधि, जडीबुटी तथा पोषण सामग्रीको नाममा अनलाइन र अफलाइन माध्यमबाट भ्रामक प्रचारप्रसार अझै जारी रहेको गुनासो प्राप्त भइरहेको छ। यसका लागि गैरकानुनी औषधिको नाम, तस्बिर, अनलाइन विज्ञापनको स्क्रिनसट, बिक्री हुने पसल वा क्लिनिकको विवरण, बिल–रसिद लगायतका पुष्टि हुने प्रमाण उपलब्ध गराउन सङ्घले अनुरोध गरेको छ। आयुर्वेदको नाममा हुने कुनै पनि गैरकानुनी गतिविधिप्रति ‘शून्य सहनशीलता’को नीति अपनाइएको उल्लेख गर्दै सङ्घले सूचना दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने जनाएको छ।

साथै, व्यक्तिगत प्रतिशोध वा आधारहीन आरोपभन्दा पनि सत्य र प्रमाणमा आधारित विवरण मात्र उपलब्ध गराउन आग्रह गर्दै सङ्कलित प्रमाण गृह मन्त्रालय, नेपाल प्रहरी, औषधि व्यवस्था विभागलगायत सम्बन्धित निकायमा पठाई दोषीउपर कडा कानुनी कारबाही अघि बढाइने सङ्घले जनाएको छ।

753281774_1594124758899530_7275729035086588539_n

752648643_3365191163689599_5112223401946449002_n