|  

१० पालिकामा नमुना कृषि कार्यक्रम सञ्चालन गरिने, किसानको खेतसम्म प्रविधि पुर्‍याइने

०९ श्रावण, काठमाडाैं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै देशका कम्तीमा १० वटा पालिकामा नमुना कृषि कार्यक्रम सञ्चालन गरिने घोषणा गरेकी छन्।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा सङ्घ-प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अनुसन्धानबाट प्राप्त प्रविधि र ज्ञान किसानको खेतसम्म पुर्‍याउन एकीकृत कार्यक्रम कार्यान्वयन गरिने बताइन्। उनका अनुसार छनोट गरिएका पालिकामा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, प्राविधिक सेवा, किसान तालिम, परामर्श तथा प्रविधि हस्तान्तरणलाई विशेष प्राथमिकता दिइनेछ। नीति निर्माणभन्दा पनि प्रभावकारी कार्यान्वयनमा सरकारको मुख्य जोड रहने उनले स्पष्ट पारिन्।

मन्त्री चौधरीले प्राङ्गारिक खेती प्रवर्द्धन, माटोको उर्वराशक्ति संरक्षण, सुरक्षित खाद्य उत्पादन तथा दिगो कृषि प्रणाली विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्। साथै कृषि, वन तथा वातावरण क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै प्रदेश सरकारबाट प्राप्त सुझावलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरिन्।