|  

सीमा सुरक्षामा सशस्त्र प्रहरीको नयाँ पहल, मुख्य नाकामा ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

१० श्रावण, काठमाडौं । सीमा सहजीकरण, सूचना संकलन र अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालले ‘बोर्डर इन्टरएक्सन टिम (बीआईटी)’ परिचालन गरेको छ।

सशस्त्र प्रहरीले साउन १० गतेदेखि देशका प्रमुख सीमा नाकाहरू काँकडभिट्टा, रानी, वीरगञ्ज, डण्डा, जमुनाह र गड्डाचौकीमा बीआईटी परिचालन गरेको हो। प्रत्येक टोलीमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १४ जना सुरक्षाकर्मी रहनेछन्। सशस्त्र प्रहरीका अनुसार टोलीहरू सम्बन्धित सीमा सुरक्षा गुल्ममा रहेर मुख्य नाकामा परिचालित हुनेछन्। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले रुपन्देहीको डण्डास्थित सीमा सुरक्षा गुल्म पुगेर टोली परिचालनको सुरुवात गरेका हुन्।

बीआईटीले सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका तथा वृद्धवृद्धाको सहजीकरण, मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तु तथा अन्य अवैध सामग्रीको निगरानी र नियन्त्रणमा काम गर्नेछ। टोलीले अन्य सुरक्षा निकाय र सरोकारवाला संस्थासँग समन्वय गरी सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोकथाम र नियन्त्रणमा समेत सहयोग गर्ने सशस्त्र प्रहरीले जनाएको छ।परिचालित टोली बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोसाकमा रहनेछन्। प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसमेत रहने व्यवस्था गरिएको छ।