|  

डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकको मृ#त्यु, प्रहरीसहित १६ जना घाइते

११ श्रावण, काठमाडौं । बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको विषयमा उत्पन्न विवादले हिंसात्मक रूप लिँदा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित १६ जना घाइते भएका छन्।

घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले कप्तानगञ्ज र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आइतबार राति दुई स्थानीय समूहबीच सुरु भएको सामान्य भनाभन केहीबेरमै कुटाकुट, ढुंगामुढा, आगजनी र तोडफोडमा परिणत भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। स्थानीय युवाहरू बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा ठूलो आवाजमा डीजे बजाइरहेका थिए।

त्यसक्रममा रातिको समयमा चर्को आवाजले असुविधा भएको भन्दै छिमेकी पक्षले विरोध जनाएको थियो। यही विषयमा सुरु भएको विवाद विस्तारै उग्र बन्दै हिंसात्मक झडपमा परिणत भएको हो।घटनामा मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, सुनिलकुमार मेहतासहित सर्वसाधारण घाइते भएका छन्।

उनीहरूको कोशी अस्पताल, विराट नर्सिङ होम तथा अन्य अस्पतालमा उपचार भइरहेको  छ। झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। निरीक्षक राईको टाउकोमा चोट लागेको छ भने अन्य घाइते प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।