|  

डा.गोविन्द केसीसँग ११ घण्टा चलेको वार्ता निष्कर्षहीन, आज पुनः छलफल हुने

११ श्रावण, काठमाडौं । धनगढीमा पाँच दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आइतबार भएको वार्ता निष्कर्षविहीन भएको छ ।

डा.केसीका माग सम्बोधन गर्न धनगढी पुगेको सरकारी टोली र केसीका प्रतिनिधिबीच आइतबार दिउँसो १२ बजेदेखि राति ११ बजेसम्म छलफल भएको थियो । तर, दुवै पक्षबीच सहमति जुट्न नसक्दा ११ घण्टा लामो वार्तामा ठोस सहमति जुट्न सकेन ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा भएको उक्त वार्तामा केसीका पाँचवटा मागमध्ये तीनवटामा तत्काल सम्बोधन गर्ने सहमति भएको छ ।

तर, दुईवटा मुख्य मागमा दुवै पक्षबीच कुरा मिल्न नसकेपछि वार्ता लम्बिएको हो । आइतबारको वार्ता निष्कर्षविनै टुङ्गिएपछि आज बिहान १० बजेदेखि पुनः वार्ता सुरु हुने तय भएको छ।