|  

नागढुंगा सुरुङको शिलान्यासको शिलालेख पुनःस्थापना गर्छौंः मन्त्री लम्साल

११ श्रावण, काठमाडौं ।  पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्ने खोला सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनः स्थापना गर्ने बताएका छन् ।

सुरुङमार्गको औपचारिक उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले शिलालेख राखिने जानकारी दिएका हुन् । २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी–२ टुटीपाखामा सुरुङमार्गको शिलान्यास गरेका थिए ।

तर, सुरुङमार्गको डिजाइनअनुसार काठमाडौंतर्फ सुरुमा शिलान्यास गरिएको ठाउँमा सीसी क्यामरा राख्ने भवन बनाउनुपर्ने भएकाले उक्त शिलालेख एक वर्षअघि नै हटाइएको सडक विभागले जनाएको छ ।

उक्त शिलालेख निकालेर त्यसबेला बबरमहलस्थित सडक विभागको कार्यालयमा राखिएको थियो । जेन–जी आन्दोलनका क्रममा आगलागीबाट विभागमा क्षति भएसँगै उक्त शिलालेख पनि जलेर नष्ट भएको विभागले स्पष्ट पारिसकेको छ ।