|  

नारायणी अस्पतालको माग: सीसीटीभीका आधारमा दोषी पहिचान गरी कारबाही गरियोस्

११ श्रावण, काठमाडाैं । नारायणी अस्पतालले शनिबार अस्पतालमा भएको घटनामा संलग्न व्यक्तिहरूको सीसीटीभी फुटेजका आधारमा पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन शाहले सोमबार विज्ञप्ति जारी गर्दै घटनासम्बन्धी सीसीटीभी फुटेज सम्बन्धित निकायमा बुझाइसकिएको जानकारी दिएका छन्। उनले फुटेजका आधारमा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। शनिबार वीरगञ्ज महानगरपालिका-२५ का ५० वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा प्रदर्शन गरेका थिए। अस्पताल प्रशासनले भने प्रदर्शनका क्रममा चिकित्सकमाथि आक्रमण भएको जनाएको छ। अस्पतालका अनुसार आक्रमणबाट डा. प्रमोद राम गम्भीर घाइते भएका छन् र उनको आईसीयूमा उपचार भइरहेको छ। घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरू असुरक्षित महसुस गरेकाले अस्पतालका अधिकांश सेवा प्रभावित भएको अस्पतालले जनाएको छ।

यसअघि पीडित पक्ष र अस्पताल प्रशासनबीच घटनाको छानबिन गर्न समिति गठन गर्ने तथा घटनाका बेला आकस्मिक कक्षमा कार्यरत केही चिकित्सक र स्वास्थ्यकर्मीलाई निलम्बन गर्ने सहमति भएको थियो।