|  

नेप्से ३३ अंकले घट्यो, कारोबार रकम ६ अर्ब नाघ्यो

११ श्रावण, काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा ठूलो गिरावट देखिएको छ।

अघिल्लो दिन सामान्य सुधार भएको बजार परिसूचक नेप्से सोमबार ३३.२८ अंकले घटेर २ हजार ७०१ अंकमा झरेको छ। कारोबार सुरु भएपछि केही समय बढेको बजार दिउँसो १२ बजेर १३ मिनेटमा २ हजार ७४४ अंकसम्म पुगेको थियो। त्यसपछि भने लगातार दबाबमा परेको बजार अन्तिम समयसम्म ओरालो लाग्यो। बजार घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ६ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन कारोबार रकम ४ अर्ब ६७ करोड रुपैयाँ थियो। सोमबार २३५ कम्पनीको सेयर मूल्य घट्दा ३५ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। समूहतर्फ बैंकिङ उपसमूहबाहेक अधिकांश क्षेत्रमा गिरावट आएको छ। बैंकिङ समूह ०.१० प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ। होटल तथा पर्यटन, व्यापार, जलविद्युत्, बीमा, लघुवित्तलगायतका समूह पनि ओरालो लागेका छन्। कम्पनीगत रूपमा नयाँ सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। गोर्खाज फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य पनि बढेको छ।

यता आत्मनिर्भर लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, कालंगा हाइड्रोपावर, सालपा विकास बैंकलगायत कम्पनीको सेयर मूल्य घटेको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आईएमई बैंक, रिडी पावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स अगाडि रहे।